काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गरेका छन् ।
बिहीबार प्रमुख साहलाई भेट्न राजदूत सङ काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए । भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख साहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवद्र्धन गर्न चाहेको बताए ।
उनले भने,‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ ।’
उनले मौलिक आपसी सम्बन्धको नागरिक तहमा लाभ हुने विषयमा जोड दिए । भेटमा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । उनले भने,‘यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ । काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन् ।’