काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत भएको खेलमा नेपाल विजयी भएको छ । बिहीबार दिउँसो भएको खेलमा पीएनजीलाई ५२ रनले पराजीत गर्दै नेपालले शीर्ष तीनमा पर्ने सम्भावना कायम राखेको हो ।
जीतको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर एक बलमा अलआउट हुँदै २ सय ४५ रनमा समेटियो । पीएनजीको लागि टोनी उरा र नोर्मान भाउआले अर्धसतक बनाए । नोरमानले ५५ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ६० रन बनाउँदा उराले ४४ बलमा ९ चौकाको सहयोगमा ५० र जोडे । यस्तै कप्तान असाद भालाले ४२, किप्लिन डोरिगाले २६ र रिले हेकुरेले २० रनको योगदान गरे ।
नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा एक मेडन राख्दै ३७ रन दिएर चार विकेट लिँदा दीपेन्द्र सिंह एरीले दुई र कुशल मल्लले एक विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भएको थियो । नेपालका आशिफ शेखले शतक बनाए । उनले एक सय १० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो पहिलो शतक पनि हो । आशिफको एकदिवसीय खेलमा एक हजार रन पनि पूरा भएको छ । यसअघि कप्तान रोहित पौडेलले एक हजार रन बनाएका थिए । यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४, कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५ र ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका थिए ।
जीतसँगै नेपाल ३३ खेलबाट ३४ अंक जोड्दै लिगको पाँचौ स्थानमा यथावत छ । समान खेलबाट ९ अंक जोडेको पीएनजी सातौँ स्थानमा रहेको छ ।