काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको हो ।
न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए ।
सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो ।
प्रशासनविरुद्ध दायर भएको दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ताको आदेश भएको थियो । गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्ता गर्न आदेश गरेको थियो। लगत्तै मंगलबार निवेदकहरुले रिट दायर गरेका थिए ।