काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत केहिबेरमा पीएनजीविरुद्ध हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा पीएनजीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । ग्रोइन इन्जुरीको कारण पछिल्लो सिरिजको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीमा फर्किदा प्रतिष जिसी बाहिरिएका छन् ।
आज हुने खेलमा नेपाल जीत निकाल्दै सिरिजमा सुखद शुरुवात गर्न चाहन्छ । नेपालको लागि यस सिरिज निकै महत्त्वपूर्ण रहेको छ । नेपालले घरेलु मैदानमा युएई र पीएनजीसँग दुई-दुई खेल्नेछ । नेपाललाई सिधै विश्वकपको छनोट खेल्न सबै चार खेलमा सतप्रतिशत जीतको आवश्यकता रहेको छ । अत्यथा नेपालले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै नेपाललाई एकदिवसीय मान्यता कायम राख्न कम्तिमा दुई खेल जित्न आवश्यक रहेको छ ।
हाल नेपाल ३२ खेलबाट ३२ अंक जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । पछिल्लो ८ एकदिवसीयमा ७ खेल जितेको नेपाल उच्च लयमा रहेको छ । तर घरेलु मैदानमा पीएनजीसँग नेपालको इतिहास सन्तोषजनक छैन । गत वर्ष टियु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजीत भएको थियो । त्यसैले नेपाल उक्त हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ ।
यता पीएनजीपनि लिगको सुखद अन्त्य गर्ने लक्ष्यसहित नेपाल आएको छ । युएईमा भएको पछिल्लो सिरिजमा घरेलु टोलीलाई दुवै खेलमा हराएको हुनालेपनि पीएनजी उच्च मनोबलमा रहेको छ । पीएनजी टियु मैदानमा आफ्नो सुखद लयलाई निरन्तरता दिन चाहन्छ । हाल पीएनजी ३२ खेलबाट ९ अंक जोड्दै लिगको पुछारमा छ ।
नेपालको प्लेइङ ११ – आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), भिम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह एरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने
