काठमाडौं । आईसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा घरेलु टोली नेपाल र पपुवा न्युगिनी(पीएनजी) भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ ।
आज हुने खेलमा नेपाल जीत निकाल्दै सिरिजमा सुखद शुरुवात गर्न चाहन्छ । नेपालको लागि यस सिरिज निकै महत्त्वपूर्ण रहेको छ । नेपालले घरेलु मैदानमा युएई र पीएनजीसँग दुई-दुई खेल्नेछ । नेपाललाई सिधै विश्वकपको छनोट खेल्न सबै चार खेलमा सतप्रतिशत जीतको आवश्यकता रहेको छ । अत्यथा नेपालले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै नेपाललाई एकदिवसीय मान्यता कायम राख्न कम्तिमा दुई खेल जित्न आवश्यक रहेको छ ।
हाल नेपाल ३२ खेलबाट ३२ अंक जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । पछिल्लो ८ एकदिवसीयमा ७ खेल जितेको नेपाल उच्च लयमा रहेको छ । तर घरेलु मैदानमा पीएनजीसँग नेपालको इतिहास सन्तोषजनक छैन । गत वर्ष टियु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजीत भएको थियो । त्यसैले नेपाल उक्त हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ ।
यता पीएनजीपनि लिगको सुखद अन्त्य गर्ने लक्ष्यसहित नेपाल आएको छ । युएईमा भएको पछिल्लो सिरिजमा घरेलु टोलीलाई दुवै खेलमा हराएको हुनालेपनि पीएनजी उच्च मनोबलमा रहेको छ । पीएनजी टियु मैदानमा आफ्नो सुखद लयलाई निरन्तरता दिन चाहन्छ । हाल पीएनजी ३२ खेलबाट ९ अंक जोड्दै लिगको पुछारमा छ ।