काठमाडौं । मुलुकले भोलि बिहीबार चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट अर्का पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई उम्मेदवार बनाएका हुन् ।
एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । एमालेले १० पुसमा भएको सहमतिनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षा गर्दै आएको छ । राष्ट्रपति चयन गर्न भोलि बिहीबार संसद् भवन नयाँबानेश्वरमा निर्वाचन हुँदै छ भने निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ तोकिएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८ सय ८२ मतदाता कायम भएको जनाएको छ । जसअनुसार प्रदेशसभाका ५ सय ५० सदस्य र संघीय संसद्का ३ सय ३२ गरी कुल ८ सय ८२ जना मतदाता कायम भएका हुन् ।
संसदीय अंकगणितका हिसाबबाट राष्ट्रपतिमा आठ दलीय गठबन्धनसँग सुविधाजनक मतभार देखिएको छ । गठबन्धन पक्षधर उम्मेदवारका पक्षमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभामा गरी ३१ हजार ९ सय ७८ मतभार छ । एमालेका पक्षमा भने प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभामा गरी कुल १६ हजार २ सय २१ मतभार देखिन्छ ।
कांग्रेससँग प्रतिनिधिसभामा ६ हजार ९ सय ५२ मतभार छ । यसैगरी, राष्ट्रिय सभामा ८ सय ६९ मतभार छ । कांग्रेससँग कोसी प्रदेशमा १ हजार ३ सय ९२, मधेस प्रदेशमा १ हजार ५६, बाग्मतीमा १ हजार ७ सय ७६, गण्डकीमा १ हजार २ सय ९६, लुम्बिनीमा १ हजार २ सय ९६, कर्णालीमा ६ सय ७२ सुदूरपश्चिममा ९ सय १२ गरी जम्मा १६ हजार २ सय २१ मतभार छ । संघ र प्रप्रदेशमा गरी कांग्रेससँग एमालेभन्दा बढी मतभार छ ।
एमालेसँग प्रतिनिधिसभामा ६ हजार १ सय ६२, राष्ट्रिय सभामा १ हजार ३ सय ४३, कोसी प्रदेशमा १ हजार ९ सय २०, मधेसमा १ हजार १ सय ४, बाग्मतीमा १ हजार २ सय ९६, गण्डकीमा १ हजार ५६, लुम्बिनीमा १ हजार ३ सय ९२, कर्णालीमा ४ सय ८०, सुदूरपश्चिममा ४ सय ८० गरी जम्मा १५ हजार २ सय ३३ मतभार छ ।
यसैगरी, माओवादी केन्द्रसँग प्रतिनिधिसभामा २ हजार ५ सय २८, राष्ट्रिय सभामा १ हजार २ सय ६४, कोसीमा ६ सय २४, मधेसमा ३ सय ४८, बाग्मतीमा १ हजार ८, गण्डकीमा ३ सय ६६, लुम्बिनीमा ४ सय ३२, कर्णालीमा ६ सय २४ र सुदूरपश्चिममा ५ सय २८ गरी कुल ७ हजार ७ सय ५८ मतभार छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीसँग संघ र प्रदेशमा गरी २ हजार ६ सय २२ मतभार छ । यस्तै, जसपासँग २ हजार १ सय ४५, लोसपासँग ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीसँग ८ सय १३, जनमतसँग १ हजार २ सय ४२ र राष्ट्रिय जनमोर्चासँग २ सय ६ मतभार छ ।
यसैगरी, राप्रपासँग संघ र प्रदेशमा गरी २ हजार ४ सय ५० मतभार छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५ सय १, नेमकिपासँग २ सय २३, नेपाल संघीय समाजवादीसँग ४८ (मधेस प्रदेशसभामा), हाम्रो नेपाली पार्टीसँग ९६ (बाग्मतीमा) मतभार छ । यसैगरी संघ र प्रदेशमा गरेर स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ ।
कता पर्ला ३ हजार ९ सय ५१ मतभार ?
यसअघि सरकारमा सामेल दुई दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कांग्रेस वा एमाले कसका उम्मेदवारलाई मत दिन्छन् खुलाइसकेका छैनन् । राप्रपासँग संघ र प्रदेशमा गरी २ हजार ४ सय ५० मतभार छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५ सय १ मतभार छ । यी दुवै दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भएर फिर्ता भइसकेका दल हुन् ।
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने रास्वपा सरकारबाट फिर्ता भए पनि सरकारलाई दिएको समर्थन कायम नै छ ।
उच्च स्रोतका अनुसार रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेका कारण राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मत दिने पक्षमा छ । तर, सो दलले औपचारिक निर्णय बुधबार (आज) मात्रै गर्ने बताएको छ ।
यस्तै, राप्रपाले समेत आज नै पार्टीको कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने निर्णय गर्दै छ । सो दलले पहिले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने नै निर्णय गर्नेछ । आजाको राजधानी दैनिकमा खबर छ ।