काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइजले लगातार दोस्रो जीत निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा एफसी खुमलटारलाई ३-१ गोलले हराउँदै चर्च ब्वाइज लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजलाई जीत दिलाउन आशिष चापागाईले दुई र एरिक विष्टले एक गोल गरे । खुमलटारको लागि मेसुके ओलुमोउले एक गोल फर्काए । खेलको ११ औं मिनेटमै आशिषले गोल गर्दै चर्चलाई शरुवाती अग्रता दिलाएका थिए ।
१८ औं मिनेटमा एरिकले गोल गर्दै चर्चको अग्रता दोब्बर बनाए । ४० औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर ७१ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३-१ गोलको जीत दिलाए ।
जीतसँगै चर्च ब्वाइज २ खेलबाट ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने पराजीत खुमलटार दुई खेलबाट ३ अंक जोड्दै लिगको पाँचौ स्थानमा झरेको छ ।