काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गरे ।
उनले भने, “हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्झन् बलियो एकताका आधारमा बाँधिरहेको छ ।”
पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।
प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्नसकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उनको भनाइ थियो ।