काठमाडौं । प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुल निर्यातमा प्रभाव परेको हो ।
सात महिनाको कुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनामा पाम तेलको निर्यातमा ५९ दशमलव २ प्रतिशतले ह्रास आई १३ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । सो अवधिमा भटमासको तेलको निर्यातमा ७७ दशमलव ५ प्रतिशतले ह्रास भई आठ अर्ब २७ करोड ७५ लाख ७४ हजार रुपियाँ र सूर्यमुखी फूलको तेलको ९१ दशमलव २ प्रतिशतले घटेर २३ करोड २८ लाख ७० हजार रुपियाँको भएको छ ।
विभागका अनुसार साउनदेखि माघसम्मको समग्र वस्तु निर्यात २९ प्रतिशतले घटेर ९१ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपियाँमा झरेको छ । आव २०७७/७८ को तुलनामा आव २०७८/७९ को पहिलो सात महिनाको अवधिमा भने ८८ दशमलव ३० प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार आव २०७७/७८ मा एक खर्ब ४१ अर्बको निर्यात हुँदा ५३ अर्ब रुपियाँको पाम तेल र भटमासको तेल निर्यात भएको थियो । यो कुल निर्यातको करिब ३८ प्रतिशत हो ।
गत आर्थिक वर्ष दुई खर्बको कुल वस्तु निर्यात हुँदा पाम तेल र भटमासको तेलको हिस्सा मात्रै करिब ९० अर्ब रुपियाँ रहेको थियो । यो कुल निर्यातको ४५ प्रतिशत हो ।
अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चीन, इजिप्ट, इन्डोनेसिया, पाराग्वे, रुस, स्विट्जरल्यान्ड, टर्की, मलेसियालगायत देशबाट पाम तेल, भटमासको कच्चा पदार्थ आयात हुुन्छ । प्रशोधित तेल थोरै मात्रामा आन्तरिक बजारमा र बाँकी सबै भारतमा निर्यात हुने गर्छ । गोरखापत्र दैनिकमा खबर छ ।