मध्यविन्दु । नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन्।
जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा आज दिउँसो करिब २ बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हामफालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि एकसय मिटर तल तीनै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।
आफ्नो दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बाँधेर नहरमा हाम फालेको उनले बताए। उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन् ।
हाम फालेर बेपत्ता भएकी महिलाका श्रीमान् हाल रोजगारीका सिलसिलामा भारतमा रहेका छन् । घरमा सासूसँगै बस्दै आएकी प्रतिमाले नहरमा हाम फालेको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।