म्यानमारमा फसे करिब सय नेपाली कामदार

काठमाडौं । आकर्षक तलब र सुविधाको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब सय नेपाली कामदारले अवैध काम गर्न बाध्य पारेको भन्दै उद्धारका लागि याचना गरेका छन् । सामाजिक सञ्जालको माध्यमबाट आश्वस्त पारेर लगिएका उनीहरूलाई कम्पनीले अनलाइन जुवा खेलाउन, कल सेन्टरमा फ्रड गर्न र क्रिप्टो करेन्सीमा ठगी गर्न लगाउनेजस्ता अवैध काममा बाध्य पारेको पीडितको गुनासो छ ।

दैनिक १२–१३ घन्टा काममा लगाएर पारिश्रमिकसमेत नदिएको कम्पनीले राहदानी पनि जफत गरेको भन्दै कामदारले म्यानमारस्थित नेपाली दूतावाससँग गुहार मागेका छन् । केइन प्रदेशस्थित म्याउडी भन्ने स्थानबाट नेपाली कामदारले उद्धार गरिदिन सम्पर्क गरेको म्यानमारस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख गंगा सुन्दासले बताइन् । उनका अनुसार गत २९ नोभेम्बरमा पहिलोपटक २० जनाले आफूहरूलाई अवैध काममा लगाइएको भन्दै उद्धार गरिदिन सम्पर्क गरेका थिए । पीडितले आफ्नो समूहको पासपोर्ट डिटेलसहित दूतावासमा सम्पर्क गरेका थिए । त्यस्तै, दोस्रोपटक पनि २० जनाको समूहले सम्पर्क गरेको उनले बताइन् ।

‘नेपाली कामदारले हामीलाई फोनबाट सम्पर्क गरे । आफूलाई अवैध रूपमा काममा लगाएको गुनासो गरे । हामीले तत्काल म्यानमार सरकारलाई घटनाबारे जानकारी गरायौँ । कामदारको विवरण पनि पठायौँ,’ सुन्दासले भनिन्, ‘तर, ती कामदारको सरकारी निकायमा कुनै पनि तथ्यांक नभेटिएको म्यानमारले जानकारी गराएको छ ।’

नेपालीबाहेक अन्य मुलुकका कामदार पनि सोही समस्यामा फसेका छन् । हाल अन्य मुलुकको दूतावासले आफ्ना कामदारको उद्धारका लागि चालेको प्रक्रियालाई निगरानी गरिरहेको सुन्दासले बताइन् । ‘त्यहाँ भारतलगायत अन्य मुलुकका कामदार पनि फसेका छन् । ती मुलुकका दूतावासले कसरी उद्धार गर्दै छन् भनेर हामीले निगरानी गरेका छौँ । उनीहरू पनि पर्ख र हेरको अवस्थामै छन्,’ उनले भनिन् ।

केइन म्यानमारको द्वन्द्वग्रस्त सहर हो । त्यसैले पनि म्यानमार सरकारले सीधै हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको सुन्दासले बताइन् । ‘नेपालीहरू फसेको केइन द्वन्द्व चलिरहेको ठाउँ हो । त्यसैले हामीले म्यानमारलाई पनि केही भन्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘तर, नेपाली कामदार आफैँ कुनै प्रक्रियाबाट भाग्न सफल भए भने हामीले थप सहयोग गर्न सक्छौँ ।’
दूतावासमा उद्धारका लागि आग्रह गर्ने नेपाली कामदारका अनुसार सो स्थानमा २० क्याम्प छन् । प्रत्येक क्याम्पमा दुई सयका दरले कामदार राखिएको छ । क्याम्पमा ३३ मुलुकका कामदार रहेको र नेपालीको संख्या ७० देखि सयसम्म हुन सक्ने पीडितले बताएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *