टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने जनाएको छ ।

सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४ हजार तीनसय जनाको मृत्यु भएको जनाइएको छ ।

पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो । उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् ।

विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो ।

भूकम्पविद्हरूले सोमबार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो ।

पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो । यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन् ।

टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ। सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजन प्रान्तमा भूकम्प जाँदा ३३ हजार मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *