बर्सेनि साढे सत्ताइस अर्बको मोबाइल आयात

काठमाडौं । विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।

विगत पाँच वर्षमा मोबाइल आयातमा भएको खर्चका आधारमा प्रत्येक वर्ष २७ अर्ब ४६ करोड रुपियाँ मोबाइल आयातमा बाहिरिएको देखिन्छ ।

मोबाइल आयातबापत सरकारले वार्षिक औसत चार अर्ब ३३ करोड रुपियाँ बराबर राजस्व पनि सङ्कलन गरेको छ । यस हिसाबले विगत पाँच वर्षमा सरकारले मोबाइल आयातबापत २१ अर्ब ६४ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।

यो पाँच वर्षको अवधिमा आव २०७७/७८ मा सबैभन्दा धेरै मोबाइल आयात भएको छ । तथ्याङ्कअनुसार उक्त आर्थिक वर्ष करिब ३७ अर्ब रुपियाँ बराबरको ७० लाख थान मोबाइल आयात भएको थियो ।

अधिकांशले चलाउँछन् स्मार्ट फोन

विश्वव्यापी प्रवृत्तिजस्तै नेपालमा पनि अधिकांशले स्मार्ट फोन नै प्रयोग गर्ने गरेका छन् । दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कुनै एक पटक सक्रिय भएका मोबाइल फोनको तथ्याङ्कका आधारमा हेर्दा कुल मोबाइल सेट प्रयोगकर्तामध्ये करिब ६८ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने देखिएको हो । बाँकीले भने बार फोन प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ ।

सेवा प्रदायकअनुसार हेर्दा नेपाल टेलिकम र एनसेल दुवैका प्रयोगकर्ताले सबैभन्दा धेरै सामसुङ ब्रान्डका मोबाइल प्रयोग गर्ने पाइएको छ ।

प्राधिकरणका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समीक्षा अवधिमा करिब एक करोड ५८ लाख मोबाइल सेट सक्रिय भएको देखिएको छ । त्यस्तै एनसेलको नेटवर्कमा एक करोड ७० लाख मोबाइल सेट सक्रिय देखिएको छ ।

टेलिकमको नेटवर्कमा सबैभन्दा धेरै सामसुङ र त्यसपछि रेड्मी, ओप्पो, नोकिया, भिभो, आइटेललगायतका मोबाइल ब्रान्ड बडी प्रयोग भएको देखिएको छ । एनसेलको नेटवर्कमा पनि सबैभन्दा धेरै सामसुङ र त्यसपछि साओमी, ओप्पो, भिभो, आइटेलजस्ता ब्रान्डका मोबाइल प्रयोग भएको पाइएको छ ।

पाँच वर्षमा हराए १५ हजार मोबाइल

समीक्षा अवधिमा करिब १५ हजार मोबाइल हराएको पाइएको छ । प्राधिकरणका अनुसार विगत पाँच वर्षमा सो बराबरका मोबाइल हराएको आवेदन प्राप्त भएको हो । सबैभन्दा धेरै गत आर्थिक वर्षमा मात्रै १० हजार मोबाइल हराएको निवेदन प्राधिकरणले प्राप्त गरेको थियो ।

हराएका कुल मोबाइलमध्ये सात हजार मोबाइल मात्र सेवा प्रदायकको नेटवर्कमा जोडिएको पाइएको प्राधिकरणले जनाएको छ, जसमध्ये प्राधिकरणले नेटवर्कमा टे«स भएका दुई हजार छ सय मोबाइल खोजीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *