महँगी ७ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा साउनदेखि पुससम्ममा आर्थिक स्थिति सबल देखिएको हो । यद्यपि, यो अवधिमा ७ दशमलव २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुससम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष विदेशी मुद्राको सञ्चिति लगातार घटेपछि देश श्रीलंकाको जस्तै जोखिममा पर्न सक्ने चिन्ता प्रकट गर्न थालिएकोमा अहिले भने सरकारसँग ९ महिनालाई आयात धान्न पुग्नेगरी विदेशी मुद्रा सञ्चय भएको छ । केन्द्रीय बैंकले ७ महिनालाई पुग्नेगरी विदेशी मुद्रा सञ्चय गर्ने मौद्रिक नीति बनाएको थियो ।

विदेशबाट आयात हुने वस्तुको परिमाण घटेको तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिटेन्सको आप्रवाहमा सुधार भएकाले विदेशी मुद्राको सञ्चिति बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतले घटेको छ । यसले गर्दा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा आयात ५१.१ प्रतिशतले बढेको थियो ।

पुससम्म नेपालले ७ खर्ब ९२ अर्ब ६७ करोड मूल्यको वस्तु आयात गरेको छ । यो अवधिमा नेपालले ८० अर्ब ८१ करोडको निर्यात गरेको छ । निर्यात गत वर्षको तुलनामा एकतिहाइले खुम्चिएको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब ८६ करोड छ । यो गत वर्षको तुलनामा १९.२ प्रतिशत कम हो ।

आयातमा संकुचन र रेमिट्यान्स आप्रवाह बढेपछि शोधानान्तर स्थिति ९७ अर्ब १० करोड बचतमा आएको छ । गत वर्षको यही अवधिमा २ खर्ब ४१ अर्बले घाटामा थियो । मुलुकबाट विदेशी मुद्रा बाहिरिनेभन्दा भित्रिने बढेपछि शोधनान्तर स्थिति बचतमा आउने गर्छ । यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *