प्रदेश प्रमुख मिश्र अनुरोध : सहिदहरूको सपना पूरा गर्न लाग्नुहोस्

महेन्द्रनगर । मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले सहिदहरूको सपना पूरा गर्ने कार्यमा लाग्न सांसदहरूलाई अनुरोध गरेका छन्। आज मधेस प्रदेशसभाको पाँचौँ स्थापना दिवस समारोहमा प्रदेश प्रमुख मिश्रले मधेसी सहिदको सपनालाई मनन गरी अगाडि बढ्न सांसदसँग आग्रह गरे ।

ज्यानको आहुति दिने सहिदको विचारलाई ध्यानमा राखी प्रदेशको विकासमा ध्यान दिनसमेत आग्रह गर्दै भने, “मधेस प्रदेशमा सुशासन र सुलभ सेवाका लागि प्रदेशसभाले भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

समारोहमा सभामुख रामचन्द्र मण्डलले मधेस प्रदेशसभाले पछिल्लो पाँच वर्षमा उल्लेख्य काम गरेको बताए । कम स्रोत साधनका बाबजुद जनअपेक्षित काम गरेको उनको भनाइ छ । सभामुख मण्डलले प्रदेशसभाको आफ्नै भवनको आवश्यकता रहेको पनि बताए ।

सभामुख मण्डलले प्रदेशसभालाई जीवनोपयोगी बनाउनुपर्ने भन्दै यसका लागि कडा मेहनत गर्न पनि सांसदसँग अनुरोध गरे । उनले प्रदेशसभाको वार्षिकोत्सवमा धेरै सांसद अनुपस्थित भएकामा दुःखसमेत व्यक्त गरेका थिए । उनले सङ्घीयता खर्चिलो व्यवस्था रहेको भनेर टिप्पणी हुन थालेकोप्रति असन्तुष्टि जनाए ।

वार्षिकोत्सवका अवसरमा भएका विभिन्न कार्यक्रम तथा प्रतियोगितामा सहभागी सांसद तथा कर्मचारीलाई सम्मान गरिएको थियो । विसं २०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको थियो । सोही अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ । मधेस प्रदेशसभामा कुल एक सय सात सांसद छन् । तर वार्षिकोत्सवमा अधिकांश सांसद अनुपस्थित थिए ।

मधेशको विकास बुलेट ट्रेनजस्तै हुन्छ : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको विकास बुलेट ट्रेनजस्तै हुने बताए । उनले भने, “मधेस सरकार हिजो बल्ल पूर्णता पायो, आज प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम पर्यो, मन्त्री र सचिवसँग बसेर भोलिदेखि नै सरकारको काम बुलेट ट्रेनको जस्तो तीव्रगतिमा आगाडि बढ्छ ।”

मुख्यमन्त्री यादवले प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण गरेरै छाड्नेसमेत पुनः दोहोर्याए । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफ्नो मुख्य प्राथमिकतामा रहेको उनको तर्क थियो । विगतमा सभामुख हुँदा सम्पूर्ण माननीयको सहयोग र सद्भावले आफूले ऐन, कानुनमात्र नभई प्रदेशको नाम र राजधानीजस्तो संवेदनशील विषयसमेत सहमतिमै पारित गराउन सफल भएको बताउँदै उहाँले यस कार्यकालमा पनि सहयोग र सद्भाव पाए राम्रो काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *