काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघको निर्णय गलत भएको बताएका छन् ।
शुक्रबार साँझ सामाजिक संजालमार्फत महामन्त्री थापाले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा निर्णय गरेको भन्दै निर्णय फिर्ता लिन माग गरेका हुन् ।
उनले भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नु भएको छ । मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न। एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष(जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन। पुनः दोहोर्याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ ।’