एजेन्सी । न्युक्यासल युनाइटेड इंग्लिस लिग कपको फाइनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा साउथाम्प्टनलाई २-१ तथा समाग्रमा ३-१ गोलले हराउँदै न्युक्यासल सन् १९७६ पछि पहिलोपटकको फाइनलमा पुगेको हो ।
सेन्ट जेम्स पार्कमा भएको खेलमा न्यूक्यासललाई जीत दिलाउन सेएन लंगस्टाफले दुई गोल गरे । साउथाम्प्टनको लागि चे एडम्सले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा ट्रीपरको पासमा लंगस्टाफले गोल गर्दै न्यूक्यासललाई शुरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा अल्मिरोनको पासमा लंगस्टाफले निर्णायक दोस्रो गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर बनाए ।
२९ औं मिनेटमा एडम्सले गोल गर्दै साउथाम्प्टनलाई २-१ गोलको स्थितिमा ल्याए । ८२ औं मिनेटमा ब्रुनो गुइमारेस रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा समेटिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा न्युक्यासल २-१ गोलले विजयी भएको हो ।
दुई टोलीबीचको पहिलो लेगमा न्यूक्यासल १-० गोलले विजयी भएको हो ।