मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा विश्व मुद्रास्फीतिदर ६ दशमलव ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ ।

सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।

विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृङ्खला, महङ्गो उत्पादन लागत, ऊर्जा तथा खाद्य सङ्कटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोभिड महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आइएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोभिड महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीतिदर औसत तीन दशमलव पाँच प्रतिशत बराबर मात्रै थियो । तर पछिल्ला वर्षहरुमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा नौ दशमलव नौ प्रतिशतसम्म पुगेको छ ।

चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरु बढी प्रभावित भएको आइएमएफले जनाएको छ ।

ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरुमा सन् २०२२ मा औसत सात दशमलव तीन प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा चार दशमलव ६ प्रतिशत रहने अनुमान छ ।

उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरुमा सन् २०२२ मा नौ दशमलव नौ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर सन् २०२३ मा आठ दशमलव एक प्रतिशत रहने प्रक्षेपण छ ।

त्यस्तै, न्यून आय भएका र कम विकसित मुलुकहरुमा सन् २०२२ मा १४ दशमलव दुई प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर आठ दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।

चरम मुद्रास्फीतिको नकारात्मक प्रभाव विश्व आर्थिक वृद्धिदरमा प्रत्यक्ष रुपमा देखिएको छ । आइएमएफका अनुसार सन् २०२२ मा विश्व आर्थिक वृद्धिदर तीन दशमलव चार प्रतिशत रहने अनुमान छ । त्यस्तै, सन् २०२३ मा दुई दशमलव नौ र सन् २०२४ मा तीन दशमलव एक प्रतिशत विश्व आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।

केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/२३ मा पाँच दशमलव एक र २०२३/२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनले पनि रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रुपमा उल्लेख गरेको छ ।

त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

सन् २००९ को विश्व आर्थिक मन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदर पछि यसवर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

“सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो”, प्रतिवेदनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *