दुई देशबीचको व्यापार सम्बन्ध मजबुत बनाउन भूमिका खेल्छुः चिनियाँ राजदूत सोङ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान भएको भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराएका छन् ।

उनीहरुबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।

उनले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्राउने विषयमा पनि राजदूत सोङसँग आग्रह गरे ।

भेटका क्रममा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए । उनले दुई देशबीचको व्यापार सम्बन्ध अझ मजबुत बनाउन आफूले भूमिका खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *