मिलेमतोमा २ करोड १५ लाख पुँजीगत लाभकर छुट

काठमाडौं । देशका विभिन्न जिल्लाका मालपोत कार्यालयले पुँजीगत लाभकर संकलन गर्दा व्यापक अनियमितता गरेका छन् । ती कार्यालयले मिलेमतो गरी २ करोडबढी पुँजीगत लाभकर छुट दिएर राज्यकोषलाई घाटा पारेका हुन् ।

मालपोत कार्यालय ललितपुर, चाबहिल र भैरहवाले मात्रै आर्थिक वर्ष २०७७/७८ मा जग्गा रजिस्ट्रेसनका क्रममा राज्यकोषमा दाखिला गर्नुपर्ने २ करोड १५ लाख पुँजीगत लाभकर कम उठाएका हुन् । ती कार्यालयले सो वर्ष ७५ करोड २२ लाख ४७ हजारको घरजग्गा किनबेच गर्दा २ करोड १५ लाख पुँजीगत लाभकर कम लिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयका अनुसार ललितपुर, चाबहिल र भैरहवा मालपोत कार्यालयमा ४१ निसर्गकर्ताले पाँच वर्षभन्दा कम अवधि स्वामित्व भएको जग्गा निसर्ग गर्दा ५ प्रतिशतका दरले पुँजीगत लाभकर असुल गर्नुपर्नेमा २ दशमलव ५ प्रतिशतका दरले मात्रै असुल गरेकाले निसर्ग रकम ७५ करोड २२ लाख ४७ हजारमा २ करोड १५ लाख पुँजीगत लाभकर घटी असुल भएको हो ।

महालेखापरीक्षकको कार्यालयले त्यसरी घटी भएको पुुँजीगत लाभकर असुल गर्न सम्बन्धित मालपोत कार्यालयलाई निर्देशन दिएको छ । सो कार्यमा सहभागी कर्मचारीलाई कारबाही गर्नुपर्ने देखिन्छ । यसैगरी, मालपोत कार्यालय सिरहाले पनि आव २०७५/७६ मा १४ निसर्गकर्ताले पाँच वर्षभन्दा कम अवधि स्वामित्व भएको ३ करोड २६ लाख ६० हजार मूल्यको जग्गा निसर्ग गरेकामा १५ लाख ८५ हजार पुँजीगत लाभकर असुल नगरेको पाइएकाले सो रकम तत्काल असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *