भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइने

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए ।

भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिए ।

उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै उनले बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराए । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तदअनुरुप काम गर्नुपर्नेमा जोड दिए ।

उनले भन्सार चुहावट नियन्त्रण गर्न कडाइका साथ लाग्नसमेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिए । प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

भन्सार प्रशासनले सम्पादन गर्ने प्रमुख कार्यका रुपमा रहेको व्यापार सहजीकरण, राजस्व सङ्कलन र सामाजिक हित संरक्षणका दायित्वलाई प्राथमिकतामा राखी अवैध व्यापार र चोरी निकासी पैठारीबाट हुनसक्ने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलले आग्रह गरे ।

भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने एवं राजस्व चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *