काठमाडौं । निर्वाचन अघिसम्म ठूला दललाई सबैभन्दा बढी गाली गर्नेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थिए । सुशासनका कुरा उठाएर उनीहरु ठूला दलका नेताविरुद्ध गालैगलौजमा नै उत्रिएका थिए । अझ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ठूला दलहरुतर्फ संकेत गर्दै जनताले नेतालाई चोर भन्न थालेको बताएका थिए । उनले भनेका थिए, ‘पहिले गाउँमा जाँदा कुन नेता आनुभएको छ भन्ने गरिन्थ्यो । अहिले कुन चोर आएछ भन्ने गरेका छन् । सरकार सरकारजस्तो छैन, संसद संसदजस्तो छैन, अदालत अदालतजस्तो छैन । यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक छैन राजनीतिलाई ठीक बनाउने नेताले पनि विश्वास गुमाएका छन्।’ नेताहरूले ठीक ढंगले काम नगर्दा सबैतिर लथालिङ्ग भएको लिङ्देनले भनाई थियो । यसका लागि राजसंस्थासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने लिङदेनले जिकिर गरेका थिए ।
लिङ्देनपछि बोलेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले भनेका थिए, ‘हुन त भर्खरभर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई। भर्खर भर्खरको बाछो हिँड्न जान्दैन, बढी कुद्छ क्या ! नयाँनयाँ सभापति भा’को, अलिकति रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ।’
विगतमा मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको संख्या १२ प्रतिशत मात्रै हुँदा उपप्रधानमन्त्रीको लावालस्करबारे रवि लामिछानेले टेलिभजनबाट गर्ने गरेको चिच्याहट सामान्य हुने थिएन । तर रवि लामिछाने अहिले त्यही लावालस्करमा समावेश भएका छन् । उनी कुनै बाध्यताले नभएर आफ्नै रहरले समावेश भएका हुन् । टेलिभिजन ‘स्क्रिन’ मा उपप्रधानमन्त्रीहरुको जम्बो टोली तथा एउटै मन्त्रालयमा धेरै मन्त्रीहरु राखिएको भन्दै खरो रुपमा उत्रिने लामिछानेको तत्कालीन प्रतिक्रिया हुन्थ्यो, ‘पदलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन । किन आवश्यक पर्यो यति धेरै उपप्रधानमन्त्री ?, किन आवश्यकता पर्यो एउटै मन्त्रालयमा दुई–तीन जना मन्त्री ?’ अझ लामिछानको त नागरिकता र राहदानीसम्बन्धी विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उनले गृह मन्त्रालय सम्हाल्नु कन्फ्लिीक्ट अफ इन्ट्रेष्ट भएको भन्दै आलोना भएको छ । तर, अहिले लामिछाने माथि नै उक्त प्रश्न तेर्सिएको छ ।
लामिछाने झैं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उपप्रधानमन्त्री धेरै राख्न नहुने पक्षमा वकालत गर्दै आएका थिए । तर, उनै लिङ्देन पनि सत्ता स्वार्थमा उपप्रधानमन्त्री बनेका छन् । १८ प्रतिशत उपप्रधानमन्त्री मध्ये लिङ्देन पनि एक छन् । तर त्यतिबेला ठूला दलप्रति आक्रोश व्यक्त गरेका लिङ्देन अहिले एमाले अध्यक्ष ओलीले भनेझैं भर्खर भर्खरको बाछो हिँड्न जान्दैन भन्ने कुराको पुष्टि भएको छ ।
निर्वाचनपछि राप्रपा सरकारमा नजाओस् भन्ने धेरैको अपेक्षा थियो । तर राप्रपाले त्यसो गर्न सकेन । उपप्रधानमन्त्रीको शपथ लिन जानुअघि अध्यक्ष लिङ्देनले सामाजिक संजालमा लेखे, ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपील गर्दछु !’
राजनीतिक विश्लेषक डम्मर खतिवडाले राप्रपा सरकारमा जाने निर्णय ऊ फेरि कमल थापाकै पथका हिँडेको टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘राजेन्द्र लिङदेनको गन्तव्य आखिर त्यही ५–७ मध्ये एक उपप्रधानमन्त्री रैछ । त्यति त कमल थापाले गरेकै थे त किन थापालाई हराएका रैछन् यिनले ? हिँड्ने त त्यही ‘थापा पथ’ मै रैछ ? कन्जर्भेटिभहरुले नयाँ नेतृत्व पाए भन्थे,हो कि जस्तो लाग्याथ्यो हैन रैछ । लिङ्देन त ठ्याक्कै अर्काे कमल थापा ।’
