सबैभन्दा जाेखिम ‘ब्लु लाइन’ सुरक्षाको जिम्मा नेपाली सेनालाई

बेरुत (लेबनान)। सबैभन्दा जोखिम र सुरक्षा चुनौती मानिएको ‘ब्लु लाइन’ क्षेत्रको सुरक्षाको पूर्ण जिम्मा नेपाली सेनाले लिँदै आएको छ । यस क्षेत्रमा अन्य मुलुकका सैनिकलाई पनि खटाइएकोमा नेपाली सेनाको भूमिका निकै प्रभावकारी देखिएकाले यहाँको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई नै दिइएको हो ।

नेपाली सेनाको अनफिल (लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घ अन्तरिम बल) मिसन गोरखबक्स गणका प्रमुख सेनानी विकास केसीले भने, “ब्लु लाइन क्षेत्रको सुरक्षाको जिम्मा अन्य देशका सैनिकलाई दिइएको थियो तर प्रभावकारी हुन सकेन । नेपाली सेनाले निकै सतर्क र कुशलतासाथ सुरक्षा प्रदान गर्दै आएको छ ।”

सीमा क्षेत्र जुनसुकै बेला युद्ध भूमिका रूपमा परिणत हुन सक्छ । त्यस्तो अवस्थामा भौगोलिक बनोटअनुसारको प्रशिक्षण, पूर्वतयारी तथा नागरिकसँगको सुमधुर सम्बन्धका कारण जोखिमपूर्ण सो क्षेत्रमा नेपाली सेनाले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको छ ।

लेबनान र इजरायलबीचको सीमालगायतका विवादका कारण पटक–पटक युद्ध हुँदा दुवै देशतर्फ ठूलो जनधनको क्षति भएको छ । सन् १९४८ मा अरब–इजरायल युद्धपछि इजरायल र लेबनानबीच विवाद बढ्दै जाँदा सिमानामा सधैँ तनावको अवस्था रहेको छ ।

सम्भावित युद्धका कारण हुन सक्ने मानवीय क्षति रोकथामका लागि संयुक्त राष्ट्रसङ्घले लेबनानमा अनफिल मिसन स्थापना गरी ४८ देशका करिब ११ हजार सैनिक तैनाथ गरेको छ । तीमध्ये सबैभन्दा जोखिम र सुरक्षा चुनौती मानिने ‘ब्लु लाइन’ क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई तोकिएको हो । विवादित सीमामा दैनिक शङ्कास्पद गतिविधि हुने एक अर्काले ‘ब्लु लाइन’ हिंसा गर्न खोज्दा उत्पन्न हुने विवादले जुनसुकै बेला गोलाबारुद प्रहार हुने गर्छ ।

लेबनान र इजरायलले आआफ्नै दाबी गरेको सिमानाको विवादित भूमि छुट्याउने गरी गाडिएका ‘ब्लु ब्यारेल’सहितको क्षेत्रलाई ‘ब्लु लाइन’ क्षेत्र भनिन्छ । संयुक्त राष्ट्रसङ्घले दुई देशको द्वन्द्व समाधान गर्ने उद्देश्यले लेबनान र इजरायलको सहमतिमा नै सन् २०००, जनवरी ७ मा स्थापना गरेको समाचार गाेरखापत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *