सत्तामोहको उत्कर्ष बिम्ब !

काठमाडौं । सरकार टिकाउनका लागि प्रधानमन्त्रीलाई कांग्रेसको विश्वासको मत आवश्यक थिएन । तर आफैंले प्रधानमन्त्री बनाउन नचाहेको पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको छ । कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अहिले संसद प्रतिपक्ष विहीन जस्तै भएको छ । किनकी नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका दुई सांसद मात्र अब संसदमा प्रतिपक्षमा छन् । सरकारलाई खबरदारी गर्न प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसले सरकारलाई विश्वासको मत दिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यदि सरकारलाई विश्वासको मत दिनुनै थियो त किन प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार नभएको भन्दै कांग्रेस त्यसमा पनि सभापति शेरबहादुर देउवाको आलोचना भएको छ । एमाले र माओवादीबीच शंका उत्पन्न गराएर गठबन्धन भत्काउन लागेको भन्दै कांग्रेसको आलोचना भएको हो । हुन त कांग्रेस नेता डा.शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताएका छन् । उनको भनाई छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सबै सांसदहरूले मत हाल्न पाउने अधिकार भएकाले त्यसैलाई हेरेर सरकारलाई विश्वासको मत दिएको हो । तर कांग्रेसले सरकारको गुण र दोषका आधारमा प्रश्न उठाउने र समर्थन गर्नेछ ।’

तर कांग्रेसले विश्वासको मत दिनुको चित्तबुझ्दो जवाफ दिन सकेको छैन । नागरिक अगुवाले यसबारेमा कांग्रेसले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । नागरिक अगुवा दमननाथ ढुंगाना भन्छन्,‘विरोधी दल बेगरको विधायिका कल्पना नगरे भो । कांग्रेको यो हक कायम छ । बरु यो सार्वजनिक प्रश्नको चित्तबुझ्दो जवाफ भने पुगेन कि प्रचण्ड सरकारलाई भोटको कमी नहुँदा पनि साथ किन दिनपर्यो ? लोभ कि गल्ती ?’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल कांग्रेसले हालै लिएको निर्णयले अन्ततः ऊ आफैं र शिशु लोकतन्त्र झनै कमजोर बनाउने बाहेक अरु के नै उपलब्धी नदिने बताउँछन् । उनी भन्छन्, ‘साँढेको फल झर्ला र खाउँला’ भनेर स्यालले विना उपलब्धी साँढेलाई पछ्याएको उक्तिलाई माथ गर्नेगरी देशको प्रमुख राजनीतिक शक्तिले हालै लिएको निर्णयले अन्ततः ऊ आफैं र शिशु लोकतन्त्र झनै कमजोर बनाउने बाहेक अरु के नै उपलब्धी दिने होला ? सत्तामोहको उत्कर्ष बिम्ब !’

पूर्वराजदूत निलाम्बर आचार्य स्वार्थ–केन्द्रित नेताले केही गर्न नसक्ने र त्यसका लािग असली राजनेता चाहिने बताउँछन् । उनी भन्छन्, ‘बुद्धि विवेकको आँखाले हेर्नुपर्छ । देशलाई भावनाको आँखाले पनि हेर्नुपर्छ । भावी इतिहासको आँखाले हेर्नुपर्छ । ५, १०, २०, ४० वर्षपछिको देशको परिदृश्य देख्नुपर्छ । यहाँदेखि त्यहाँसम्मको भरपर्दो बाटो सोच्नुपर्छ र हिँड्नुपर्छ । स्वार्थ–केन्द्रित नेताले यो गर्न सक्दैन तर असली राजनेताले सक्छ ।’

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका थिए । अर्जुननरसिंह केसी भन्छन्, ‘कस्तुरी मृग जसरी आफै भित्रको । सुगन्ध खोज्न जङ्गलको चारैतिर भौतारिन्छ तर पाउन्न। त्यस्तै लोकतान्त्रिक आदर्श र सिद्धान्त विपरीत,आफू,आफ्नै शक्ति र पहिचान बिर्सिंदै, जनभावनालाई पन्छाएर, संविधानको रक्षाको नाममा हुटिट्याउँले जस्तै खुट्टा ठाडो पारेर आकाश थाम्ने दौडमा छौं हामी ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *