खुला दिसामुक्त जिल्लाको सदरमुकाम नै सार्वजनिक शौचालयविहीन

दोलखा । स्थानीय तहका ७४ वटा वडाको केन्द्रबिन्दु तथा दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा एउटा पनि सार्वजनिक शौचालय छैन ।

यहाँका नौवटा पालिकाको ७४ वटा वडा आवतजावत गर्ने मुख्य सहरमा हालसम्म पनि शौचालय नहुँदा सबैभन्दा यात्रुलाई बढी मार परेको छ ।

शौचालय नहुँदा सदरमुकाम चरीकोट आवतजावत गर्ने यात्रु तथा पैदलयात्रु खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य हुनुपरेको छ भने महिलालाई अझ सकस बनेको स्थानीय ऋषि न्यौपानेले बताए ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भन्ने उखानझैँ दोलखालाई खुला दिसामुक्त घोषणा गरेको तीन वर्ष बित्यो तर घोषणा भने कागजमा मात्र सीमित रहेको छ । शौचालय जान परेर गाह्रो हुँदा पनि होटल तथा पसलमा आग्रह गरे पनि कसैले पनि शौचालय प्रयोग गर्न नदिने गरेको यात्रुहरूको दुखेसो रहेको छ ।

दिसापिसाब आइहाले होटलमा केही खान वा पसलमा केही किन्नुपर्ने बाध्यता रहेको सदरमुकाम आउनुभएका यात्रु धनबहादुर केसीले बताए ।

दुई वर्षअघि सशुल्क सार्वजनिक शौचालय प्रयोग गरिरहेका स्थानमा भीमेश्वर नगरपालिकाको व्यावसायिक भवन निर्माणाधीन अवस्थामा रहेको छ । व्यावसायिक भवनमा सार्वजनिक शौचालय निर्माण भएकाले छिट्टैै सञ्चालनमा ल्याउने तयारी रहेको भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको दाबी रहेको छ ।

सदरमुकाम चरीकोट भएर यहाँका सात गाउँपालिका र एक नगरपालिकामा यात्रुवाहक बसहरू छुट्ने गरेका छन् । सदरमुकाम भएकाले आउने जानेको पनि भीड हुने गरेको समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *