गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै, दीपक मनाङ्गेले गरे यस्तो निर्णय

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

आज अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका थिए ।

तर, स्वतन्त्र सांसद गुरुङले भने अधिकारीलाई विश्वासको मत नदिने बताएका छन् । उनले हिजो बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्ने बताएका छन् ।

‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद,’ सांसद गुरुङले फेसबुकमा लेखेका छन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन् । हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन । एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *