एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस लिग कपबाट बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा सिटीलाई २-० गोलले हराउँदै साउथाम्प्टन इएफएल कपको सेमिफाइनलमा पुगेको हो ।
घरेलु मैदान सेन्ट म्यारी स्टेडियममा भएको खेलमा साउथाम्प्टनलाई जीत दिलाउन सेकोउ मारा र मौसा ड्जेनेपोले समान एक-एक गोल गरे । खेलको २३ औं मिनेटमा ल्यान्कोको पासमा माराले गोल गर्दै साउथाम्प्टनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा लाभियाको पासमा ड्जेनेपोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा साउथाम्प्टन २-० गोलले विजयी भएको हो ।
जीतसँगै साउथाम्प्टन सेमिफाइनलमा प्रवेश गर्दा म्यानचेस्टर सिटी प्रतियोगिताबाट बाहिरिएको छ । अब साउथाम्प्टनले सेमिफाइनलमा न्युक्यासल युनाइटेडको सामना गर्नेछ ।