काठमाडौंलाई हराउँदै विराटनगर क्वालिफायरमा

काठमाडौं । विराटनगर सुपर किंग्स नेपाल टी-२० लिगको क्वालिफायरमा प्रवेश गरेको छ । सोमबार दिउँसो भएको इलिमिनेटरमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको हो ।

जीतको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटिएको हो । काठमाडौंको लागि अविनाश बोहोराले १६, ज्ञानेन्द्र मल्लले १५, लोकेश बमले १३ र कमल सिंह एरीले १९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरको लागि सुर्य तामांगले २.४ ओभरमा १४ रन दिएर ४ विकेट लिए । यस्तै केओन आलम र शहाब अलामले दुई-दुई विकेट लिँदा हुसेन टालटले एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । विराटनगरको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । उनले ४९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै विवेक यादवले १८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ४६ रन बनाउँदा हुसेन टालटले ३८ र राज नाननले २३ रन बनाए ।

काठमाडौंको लागि कमल सिंग एरी र अनिल खरेलले दुई-दुई विकेट लिँदा अविनाश बोहोरा र गौतम केसीले एक-एक विकेट लिए ।

अब विराटनगरले भोलि हुने दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *