हो.. हो.. ! निः स्वार्थ र दिगो गठबन्धन त निर्वाचन अघिको पो थियो !

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएसँगै त्यसदिन महामन्त्री गगन थापा पार्टी सांसदहरुसँगको भेटघाटमा ब्यस्त रहे । कसैका घरमा गए भने केही होटलमा बसेका सांसद भेट्न होटलमा पुगे । उनी यस पटक सभापति शेरबहादुर देउवालाई पराजित गरी आफू दलको नेता बन्न चाहन्थे । यसरी दलको नेता बन्ने दौडमा रहेका महामन्त्री थापा निर्वाचनको अघिल्लो रात लाजिम्पाटमा कुनै होटलमा सांसद भेट्न जाँदै थिए । तर सादा पोशाकका सुरक्षाकर्मीले उनलाई अवरोध गरे । थापालाई सुरक्षाकर्मीले अवरोध गरेपछि थापा पक्षका नेताहरुले सामाजिक संजालमा सुरक्षाकर्मीको अवरोधको दृष्य पोष्ट गरी प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो हर्कत नगर्न चेतावनी दिए ।

भोलिपल्ट निर्वाचन भयो । देउवा विजयी भए, थापा पराजित । यसबाट के बुझिन्थ्यो भने देउवा जसरी पनि दलको नेता बन्ने र प्रधानमन्त्री आफू हुनेमा ढुक्क थिए । राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न दिएको समय नजिकिँदै थियो । विगतमा गठबन्धन गर्दा देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिने वाचा गरेका रहेछन् । तर दलको नेता आफू भएपछि देउवाले विगतको वाचा पूरा नगर्ने छाँटकाँट देखाए र गरे पनि त्यही । किनकी पार्टीकै चुनावमा त सत्ताको दुरुपयोग गर्ने देउवाले किन सहजै प्रचण्डलाई प्रधानमन्त्री दिन्थे ।  सत्ता गठबन्धन भत्कियो र एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । कांग्रेसका देउवा इतर पक्षका नेताहरु पनि पार्टी सभापतिको सत्ता मोहका कारण गठबन्धन भत्किएको बताइरहेका छन् । प्रचण्डलाई देउवाबाट धोका भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले बताइरहेका छन् ।

कुनै एक दलको बहुमत नआएकाले सरकार गठबन्धन गरी बनाउनुपर्ने बाध्यता थियो र छ पनि । अब कांग्रेस प्रतिपक्षमा छ र हुनेपनि त्यही हो । विगतमा एमाले ठूलो दल भएर पनि प्रतिपक्षमा थियो । गठबन्धन गरी कांग्रेस नेतृत्वमा सरकार बनेको थियो । हिजो कांग्रेसको २३ सिट थियो । देउवा प्रधानमन्त्री बने । नयाँ सरकार बनेपछि कांग्रेस नेताहरु अब कांग्रेस प्रतिपक्षमा बस्छ र प्रभावकारी रुपमा प्रतिपक्षमा भूमिका निर्वाह गर्ने बताउँदै आएका छन् । तर बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले बनेको गठबन्धनकोबारेमा आलोचना गरे । उनले वर्तमान सत्ता गठबन्धनलाई अवसर केन्द्रित बहुरङ्गी गठबन्धनको संज्ञा दिए र यसको आयु छोटो भएको बताए ।

उनले भने, ‘राजतन्त्र चाहिनेदेखि गणतन्त्रको विकल्प छैन भन्ने र संघीयताका पक्षपातिदेखि संघीयता विरोधीहरूसमेत संलग्न बहुरङ्गी गठबन्धन लामो समयसम्म जाँदैन । विचारमा एकरूपता छैन, दृष्टिकोणमा मिलन छैन, नितान्त शक्ति आर्जन गर्नकै लागि बनाइएको यो गठबन्धनको आयु छोटिनसक्ने देखेका छौं ।’उनले गठबन्धन बचाउने विषयमा प्रचण्डले विकल्पको समय नै नराखी गठबन्धन तोडेर गएको आरोपसमेत लगाए ।

सत्ताबाट बाहिरिएको दुई हप्ता भएको छैन, प्रतिपक्षको भूमिका निर्वाह गर्छु भन्ने कांग्रेस नेताहरु अहिल्यै सरकारको आयुको कुरा गर्न थालिसकेका छन् । हिजो आफ्नो गठबन्धन हुँदा प्राकृतिक हुने र अरुले गर्दा अप्राकृतिक र बहुरंगी हुने महतको कुरा अचम्मको छ । महतको कुरा सुनेपछि सामाजिक संजालमा उनको आलोचना भएको छ । एकजना सामाजिक संजाल प्रयोगकर्ता लोकेन्द्र अधिकारी लेख्छन्, ‘म त यो सरकारको भन्दा छोटो आयु यीनको राजनीति र प्रवक्ता पदको देख्छु ।’ अर्का समाजिक संजाल प्रयोगकर्ता बीबीसी चन्दले भनेका छन्, ‘तपाईंको पार्टी साह्रै राम्रो, दलालहरु, आफ्नो पार्टीको गठबन्धन/सत्ता हुँदा सबै ठिक नहुँदा सबै अवसरवादी ।’ प्रमोद गौतम लेख्छन्, ‘हो.. हो..साँच्चै ! निस्वार्थ र दिगो गठबन्धन त निर्वाचन अघिको पो थियो, जसलाई यहाँहरूजस्ता झोलेहरूले कम्तीमा २० वर्षसम्म अटूट रहन्छ भन्ने भविष्यवाणी गर्दै हिँड्थे ।’

राजेश पराजुली भन्छन्, ‘सत्ता बाहिर बस्नुपर्दाको छटपटी  कस्तो हुन्छ हेरौं । देश र जनता दोहान गरेर आफू पालिनु पर्ने ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *