किन हुँदैनन् प्रधानमन्त्री र मन्त्रीका निर्देशन कार्यान्वयन ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले ६ वटा निर्णय गर्यो । ६ मध्ये चौथो निर्णयमा भनिएको छ, ‘नागरिकहरुलाई प्रदान गर्दै आएका आधारभूत सेवा विशेष गरी राष्ट्रिय परिचय पत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा प्रवाहलाई सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरु तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने ।’ खासगरी चालक अनुमतिपत्र लिन र राहदानी लिन सबैभन्दा ठूलो समस्या छ । चालक अनुमतिपत्रको परीक्षामा पास भएको व्यक्तिले एकवर्ष कुर्दा पनि नपाएको अवस्था छ । त्यस्तै चालक अनुमतिपत्रको परीक्षा दिनका लागि समेत आवेदन दिन सहज छैन । सर्भरमा समस्या आएको भन्दै सेवाग्राही हैरानीमा पर्ने गरेका छन् ।

राहदानीमा पनि त्यस्तै समस्या छ । त्यसैले सरकारले जनतालाई सहज रुपमा सेवा दिने थालनी गर्न यो निर्णय गर्यो । मन्त्रिपरिषदको यस्तो निर्णय गरेपछि त्यसको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगे । गृहमन्त्री पुगेपछि सेवाग्राहीले समस्या सुनाए । जवाफमा गृहमन्त्रीले विगतमा अरु मन्त्रीले भनेझैं विस्तारै सबै राम्रो हुन्छ भने फर्किए । गृहमन्त्री विभाग पुगेको एकसाता नपुग्दै राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण बन्द गरेको छ । विभागले सूचना जारी गरी यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने र अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन आग्रह गरेको छ ।

यो बीचमा फेरि विदेशबाट आउनेले एउटा भन्दा मोबाइल ल्याउन नपाउने विषयले पनि ठूलै विवाद ल्यायो । सरकारले यस्तो निर्णय गरेपछि विदेशमा बस्ने नेपालीले ‘नो रेमिट्यान्स’ अभियान संचालन गर्ने घोषणा गरे । त्यसपछि प्रधानमन्त्री प्रचण्डले त्यो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । तर सोमबार अमेरिकाबाट फर्केका एकजना नेपालीले अतिरिक्त एउटा मोबाइल ल्याउँदा विमानस्थल भन्सारले नछाडेको घटना बाहिरिएपछि मंगलबार फेरि प्रधानमन्त्रीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई ३० वटा निर्देशन दिएका छन् ।

विगतका कार्यशैली ठिक नभएको, सेवा प्रवाह चुस्त दुरुस्त बनाउनेलगायतका प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले निर्देशन कार्यान्वयन नभए कारबाही गर्ने चेतावनी पनि दिएका छन् । मंगलबारै उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकान्तकुना र ठूलोभर्याङको यातायात कार्यालयको अनुगमन पुगेका थिए । त्यहाँ पुगेर मन्त्री श्रेष्ठले चाँडो भन्दा चाँडो यातायात व्यवस्था सुधारका कार्ययोजना ल्याइने बताए । मन्त्री अनुगमनमा जाँदै गर्दा समस्या भने सेवाग्राहीलाई उस्तै थियो । सोमबार र मंगलबार सर्भर डाउन हुँदा यातायात व्यवस्था कार्यालय भक्तपुर, सानोभर्याङ, सुकेधारा, गुर्जुधारालगायत देशभरका विभिन्न कार्यालयमा सेवा प्रभावित भएका थिए । त्यस्तै मन्त्री श्रेष्ठले देशभरका सडकका खाल्डाखुल्डी एकमहिनाभित्र पुर्न सडक विभागलाई निर्देशन दिएका छन् ।
पूर्वसचिव रामेश्वर खनाल यथार्थ नबुझी निर्देशन मात्र दिँदा त्यसले परिणाम नल्याउने बताउँछन् । उनी भन्छन्, ‘यथार्थ बुझ्ने कत्ति प्रयत्न नगरी हावादारी लोकप्रिय हुने निर्देशन कार्यान्वयन हुने सम्भावना हुन्न !’

त्यस्तै पूर्वसचिव मधुरमण आचार्य पनि संचारमाध्यमबाट आउने निर्देशन कर्मचारी पालना गर्न नहुने बताउँछन् । लिखित आदेश नआउँदासम्म निर्देशनको भरमा कर्मचारीले काम गर्ने हो भने सबै मन्त्रीले भए नभएको आदेश दिने उनी बताउँछन् । उनी भन्छन्,‘ती कर्मचारीलाई पुरस्कृत गर्नुपर्छ जसले मिडियाबाट प्रसारित निर्देशन टेरेनन् । लिखित आदेश नआउँदासम्म निर्देशनको भरमा कर्मचारीले काम गर्ने हो भने त सबै मन्त्रीले भए नभएको निर्देशन दिन थाल्छन् । यसै पनि नेपालमा संविधान भन्दा ठूलो ऐन भन्दा नियम ठूलो र नियमभन्दा निर्देशन ठूलो हुन्छ !’

जस्तो कि मोबाइलको कुरामा अर्थमन्त्रीमार्फत निर्देशन दिनुपथ्र्यो । अनि अर्थ मन्त्रालयले कानुनसम्मत तरिकाले मुलुकभरका सम्वन्धित भन्सार नाकाहरूमा औपचारिक आदेश पठाउन/परिपत्र गर्न सक्थ्यो । तर त्यस्तो भएन । प्रधानमन्त्रीको निर्देशन आयो सकियो । प्रणालीमा(सिस्टम) त्यसलाई अगाडि बढाएको भए प्रधानमन्त्रीको पहिलो निर्देशनपछि नै त्यो समस्याको समस्याको समाधान हुन्थ्यो । दोस्रो पटक फेरि निर्देशनको जरुरत पर्दैनथ्यो । अहिले प्रधानमन्त्रीको छुट्टै दर्जनौं निर्देशन सचिवहरुलाई आएका छन् । त्यस्तै गृहमन्त्रीका छुट्टै दर्जनौं निर्देशन, यातायात मन्त्रीका छुट्टै निर्देशन आएका छन् । तर हाम्रो प्रणाली कति बलियो छ र तीन निर्देशन कार्यान्वयन हुनसक्ने अवस्थाका छन् कि छैनन् भन्ने ख्याल गरिएको छैन । यदि प्रणाली बलियो भएको भए राहदानीका समस्या समाधान हुनुको सट्टा झनै जटिल समस्या देखिनु, यातायातमा सर्भर डाउनको समस्या उस्तै । त्यसैले निर्देशन दिने भन्दा पनि प्रणाली(सिस्टम) बलियो बनाउने र त्यसअनुसार निर्देशन दिँदा राम्रो हुने हो कि ?

यो पनि

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन 

व्यक्तिगत प्रयोजनका मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन 

चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

यातायात कार्यालयहरुमा जहिल्यै सेवाग्राहीको लाम 

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *