नेपाल टी-२० लिगमा जनकपुरको चौथो जीत

काठमाडौं । नेपाल टी-२० लिगमा जनकपुर रोयल्सले चौथो जीत निकालेको छ । शनिबार दिउँसो भएको खेलमा जनकपुरले विराटनगर सुपर किंग्सलाई ४९ रनले पराजीत गरेको हो ।

जीतको लागि १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन मात्र बनाउन सक्यो । विराटनगरको लागि हुसेन टालटले सर्वाधिक ४२ रन बनाए । उनले २० बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै प्रदीप एरीले २६ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ३६ रन बनाउँदा गाउरान्शु शर्माले ३६ बलमा ३ चौकाको मद्दतमा ३३ रन बनाए ।

जनकपुरको लागि सामिउल्लाह शिनवारीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । यस्तै ललित राजवंशीले दुई विकेट लिँदा मोहम्मद अदिल अलाम र अशान प्रियंजनले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि सामूल्लाह शिनवारीले सर्वाधिक ७८ रन बनाए । उनले ४० बलमा ६ छक्का र ६ चौका हिर्काए । यस्तै चदविक वाल्टनले २९, सन्दीप जोराले २०, त्रेभोन ग्रिफ्थले १९ र खडक बोहोराले १५ रनको योगदान गरे ।

विराटनगरको लागि हुसेन टालट र सुर्य तामांगले दुई-दुई विकेट लिँदा नन्दन यादवले एक विकेट लिए ।

जीतसँगै जनकपुर ५ खेलबाट ८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत छ भने पराजीत विराटनगर ५ खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *