काठमाडौं । नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरीक्षमा पुग्ने भएका छन् ।
मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्याइने छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको समाचार गोरखापत्र दैनिकमा छ ।
स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए ।
श्रव्यदृश्य सामग्री उत्पादन र भू–उपग्रहमा राख्ने काममा राजन श्रेष्ठ र किरण महर्जन लाग्नुभएको छ । महर्जनले यसरी अहिलेसम्म नेपाली श्रव्यदृश्य अन्तरीक्षमा गएको यो पहिलो पटक हुने दाबी गरेको समाचार उल्लेख छ ।
अन्तरीक्ष प्रतिष्ठानका संस्थापक नेपाली वैज्ञानिक डा. आभाष मास्केले अन्तरीक्षमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री पठाउने कुरा आफैँमा नौलो विषय भएको बताउँदै भने, ‘हामीले यसो गर्नुका पछाडि कलाकारिताका क्षेत्रमा भएका व्यक्तिलाई भू–उपग्रहको निर्माणमा जोड्नु हो । यसरी श्रव्यदृश्यलाई अन्तरिक्षमा पठाउनु भनेको नेपालका कला, संस्कृति र इतिहासलाई साङ्केतिक रूपमा सम्मान पनि हो ।’
