पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

पोखरा । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आफ्नो डेब्यु खेल खेलेको चर्च ब्वाइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको खेलमा प्रतियोगिताको सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोलले पराजीत गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालास्थित फूटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजलाई जीत दिलाउन अन्जन विष्ट र अनन्त तामांङले समान एक-एक गोल गरे । पुलिसको लागि रवि शंकर पासवानले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस पराजीत हुन बाध्य भयो । खेलको २५ औं मिनेटमै निर कुमार राईको पासमा रविले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए ।

विपक्षीलाई शुरुवातदेखिनै दबाबमा राखेपनि चर्चले गोलको लागि ७७ औं मिनेटसम्म कुर्न पर्यो । ७७ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै चर्चलाई खेलमा फर्काएका थिए । केहि दिनअगाडिमात्रै मनांङ मर्स्याङ्दी क्लब छोड्दै चर्च पुगेका उनले डेब्यु खेलमै गोल गरेका हुन् । यस्तै बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको हो ।

यस्तै अतिरिक्त समयको आठौँ मिनेटमा तेज तामांङको कर्नरमा अन्जनले हेडिंङ ब्याक फ्लिप गर्दै दिएको बलमा अनन्तले तामांङले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को जीत दिलाएका हुन् । अनन्तपनि थ्री-स्टार छोड्दै यसै सिजन चर्च ब्वाइजमा अनुबन्ध भएका थिए ।

अब चर्च ब्वाजले सेमिफाइनल प्रवेशको लागि मछिन्द्र फूटबल क्लबको समना गर्नेछ । अब भोलिबाट क्वाटरफाइनल अन्तर्गतका खेलहरु शुरु हुनेछन् । भोलि विभागीय टोली नेपाल एपिएफ क्लब र धरान एफसी भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *