काठमाडौं । नेपाल टी-२० लिगमा जनकपुर रोयल्सले जीत निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा फार वेस्ट युनाइटेडलाई ८ विकेटले पराजीत गर्दै जनकपुरले लिगमा तेस्रो जीत निकालेको हो ।
जीतको लागि १ सय ७० रनको लक्ष्य पछ्याएको जनकपुरले १८.२ ओभरमा दुई विकेटको क्षतिमा १ सय ७१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । जनकपुरको लागि सन्दीप जोरा र चन्द्विक वाल्टनले अर्धसतक पुरा गरे । सन्दीपले ५४ बलमा ५ छक्का र तीन चौकाको मद्दतमा ७७ रन बनाउँदा वाल्टनले ४० बलमा ५ छक्का र २ चौकाको सहयोगमा ६९ रन बनाए । पवन सरार्फले १२ र त्रिभोन ग्रिफिथले ६ रन जोडे ।
फार वेस्टको लागि करण केसीले ३.२ ओभरमा २५ रन दिएर दुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । फार वेस्टको लागि करण केसीले सर्वाधिक ४६ रन बनाए । उनले १७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै भिम शार्कीले ३६, देब खनालले २२, हाश्मुतुल्लाह शाहिदीले १९, हरिशंखर शाहले १३, विनोद भण्डारीले १२ र हसिम अन्सारीले ११ रन बनाए ।
जनकपुरको लागि ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी र जितेन्द्र मुखियाले समान एक-एक विकेट लिए ।
जीतसँगै जनकपुर ४ खेलबाट ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।समान खेलबाट दुई अंक जोडेको फार वेस्ट पाँचौ स्थानमा रहेको छ ।