काठमाडौं । नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले जीत निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा जनकपुर रोयल्सलाई ५३ रनले पराजीत गर्दै काठमाडौंले दोस्रो जीत निकालेको छ ।
जीतको लागि २ सय ९ रनको विशाल योगफल पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ५५ रन मात्र बनाउन सक्यो । जनकपुरको लागि सामिउल्लाह शिन्वारीले २९, सन्दीप जोराले २६,पवन सरार्फले २४, शराफुदिन अशार्फले १९, मोहम्मद अदिल अलामले १६ र जितेन्द्र मुखियाले १३ रन बनाएपनि जीतको लागि पर्याप्त रहेन ।
जनकपुरको लागि अज्मातुल्लाह ओमारजाईले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । बासिर अहमदले दुई विकेट लिँदा कमल सिंह एरी, अविनाश बोहोरा, अनिल खरेल र सुमन गौतमले एक-एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन जोडेको थियो । काठमाडौंको लागि एलेक्स ब्लाकेले विस्फोटक ब्याटिङ गर्दै ८३ रन जोडे । उनले ४३ बलमा ७ छक्का र ४ चौका प्रहार गरे । विरन्दिप सिंहले ३४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ४९ रन बनाउँदा अज्मातुल्लाह ओमारजाईले ४३ रन बनाए । उनले १५ बलमा ४ छक्का र १ चौका हिर्काए । यस्तै लोकेश बमले १५ रन बनाए ।
जनकपुरको लागि पवन शरार्फले ४ ओभरमा १८ रन खर्चिंदै २ विकेट लिँदा सोमपाल कामी, जितेन्द्र मुखिया, शराफुदिन अशार्फ र मोहम्मद अदिल अलामले समान एक-एक विकेट लिए ।
जीतसँगै काठमाडौं ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान ४ अंक जोडेको जनकपुर नेट रनरेटको आधारमा तेस्रो स्थानमा झरेको छ ।