लुम्बिनीको लगातार तेस्रो जीत

काठमाडौं । नेपाल टी-२० लिगमा लुम्बिनीले लगातार तेस्रो जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा पोखरालाई तीन विकेटले हराउँदै लुम्बिनीले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।

जीतको लागि १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । लुम्बिनीको लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै शाद्ले भान स्चाल्क्विकले ११ बलमा ४ छक्का हिर्काउँदै ३१ रन बनाउँदा उन्मुक्त चन्दले २२, अनिल शाहले १९ र गुलसन झाले १० रन बनाए ।

पोखराको लागि कुशल मल्लले २ ओभरमा ८ रन दिएर २ विकेट लिए । विपिन खत्रीले ३ ओभरमा २२ रन दिएर २ विकेट लिँदा प्रतिष जिसी, अभिमन्यु मिथुन र जाहिर खानले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । पोखराको लागि कुशल मल्लले ३१ बलमा ५ छक्का र ५ चौकाको सहयोगमा ६१ रन बनाउँदा उपल थरंगाले ४२ रन बनाए । उनले ५१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । पोखराका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीको लागि शाद्ले भान स्चाल्क्विकले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । किशोर महतो र गुलसन झाले समान दुई-दुई विकेट लिँदा हर्मित सिंह र सागर ढकालले एक-एक विकेट लिए ।

जीतसँगै लुम्बिनी ३ खेलबाट ६ अंकको साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने सबै तीन खेलमा पराजीत भएको पोखरा अंकविहिन रहँदै पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *