प्रधानमन्त्री हुँदै हल्लिने भएपछि होला त स्थिरता ?

काठमाडौं । निर्वाचनअघि सत्तारुढ गठबन्धनका नेताहरुले यो गठबन्धन १५/२० वर्ष कायम रहने अभिव्यक्ति दिँदै आएका थिए । उनीहरुले निर्वाचनमा आफूहरुको बहुमत आउने र नयाँ सरकारको नेतृत्वकाबारेमा विवाद नहुने बताएका थिए । तर निर्वाचन गठबन्धनले बहुमत ल्याउन सकेन । निर्वाचन सम्पन्न भएर राष्ट्रपतिले सरकार गठनका लागि एकसाताको समय दिएपछि गठबन्धभित्र प्रधानमन्त्री पदलाई लिएर हानाथाप सुरु भएको छ । निर्वाचनअघिसम्म आफू प्रधानमन्त्रीको रेसमा नभएको बताउने माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्व सुरुमा आफूले गर्ने भन्ने विषयमा विवाद सुरु भएको छ । सुरुको दुई वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने प्रचण्डको माओवादीको प्रधानमन्त्री देउवा सहमत नभएपछि अहिले गठबन्धनका दुई दलबीच प्रधानमन्त्रीको विषयलाई लिएर विभिन्न चरणमा छलफल भइरहेका छन् । आफूलाई सरकारको नेतृत्व गर्न नदिए एमालेतिर जाने प्रचण्डले देउवालाई धम्की दिएको खबर पनि आएका छन् । त्यस्तै कांग्रेसको एउटा पक्ष माओवादीसँग नभई एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।

पछिल्लो समय सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राखेर माओवादीले कांग्रेसलाई पेल्दै गएको छ । प्रधानमन्त्री देउवा संसदीय दलको नेता चयन भएपछि अर्थमन्त्री जनार्दन शर्मा देउवालाई बधाई र शुभकामना दिन गएका थिए । त्यसक्रममा अर्थमन्त्री शर्माले गठबन्धन जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए । खासमा गठबन्धनभित्र दुई दुई वर्ष प्रचण्ड र देउवा अनि एकवर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको बताइएको छ । तर अहिले भने सुरुमा नेतृत्व कसले गर्ने भन्ने विवाद भएको हो ।

यसैक्रममा शुक्रबार बिहान कांग्रेस नेता प्रकाशमान सिंहले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरी देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरे । सिंहले प्रचण्डलाई ठूलो दलको नाताले सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकोले नयाँ सरकार माओवादीको नेतृत्वमा बन्नुपर्ने बताए । त्यसपछि शुक्रबार अपरान्ह देउवा र प्रचण्ड नै बसेर यस विषयमा छलफल गरेका छन् । तर छलफल निष्कर्षविहीन भएको नेताहरुले बताएका छन् । यसरी सुरुमै नेतृत्वको विषयलाई लिएर विवाद भएपछि गठबन्धन के हुने भन्ने आशंका बढेको छ । यदि सहमति भइहालेपनि स्थिरता नहुने देखिएको छ । पूर्वसभामुख दमननाथ ढुंगाना यसबाट स्थिरता नहुने स्पष्ट भएको बताउँछन् । उनी भन्छन्, ‘प्रधानमन्त्री हुँदै हल्लिने भएपछि होला त स्थिरता ? अघिल्लो संघीय संसद आलो–पालोले खाएर सकियो, यो पालो–आलोले सकिने हो कि ?’

त्यस्तै नेकपा एमालेका नेता गोकुल बास्कोटा पनि नेपाली राजनीति फेरि पनि च्याँखे दाउमै रमाउने देखिएको भन्दै चिन्ता प्रकट गर्छन् । उनी भन्छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिर नेपालको अभिशप्त नियती भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् ।’

बास्तवमा अस्थिरता निम्तनुमा निर्वाचनमा कुनै पनि दलको बहुमत नआउनु हो । जुनसुकै दलबीच गठबन्धन बनेपनि तीन चार दल मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता छ । यसरी सरकार गठन हुँदा एउटा कुनै दलले समर्थन फिर्ता लिने बितिक्कै सरकार संकटमा पर्ने हुन्छ । अहिलेको निर्वाचन प्रणाली परिवर्तन नगर्ने हो भने आगामी सरकारहरु यसरी नै आलोपालो र पालोआलोमै बित्नेछन् । अनि सधैं अस्थिरत राजनीतिको खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *