आखिर नेपालमा किन राजनीतिक दौडधुप गर्दैछन् विदेशी राजदूतहरु ?

काठमाडौं । गतसाता नेपालका लागि चीनका कार्यबाहक राजदूत वाङसिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न राप्रपाको कार्यालय धुम्बाराहीमै आए । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठकाअनुसार भेटमा कार्यबाहक राजदूत वाङसिनले निर्वाचनमा विजयी भएकोमा लिङ्देनलाई बधाई दिए । बुधबार नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन पनि राप्रपाको कार्यालयमा आएर निर्वाचनमा हासिल गरेको उपलब्धिप्रति राप्रपालाई बधाई दिएका छन् । पार्टी अध्यक्ष लिङदेन र राजदूत थम्पसनबीच समसामयिक विषय र दुईपक्षीय सम्बन्धको विषयमा पनि कुराकानी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

अमेरिकी राजदूतले अध्यक्ष लिङ्देनलाई भेटेपछि राप्रपाका प्रवक्ता श्रेष्ठले चीनका कार्यबाहक राजदूत र अमेरिकी राजदूतको भेटको तस्बिर सामाजिक संजालमा राख्दै लेखे, ‘हप्ता दिनभित्र महाशक्ति राष्ट्रहरु अमेरिकाका राजदूत र चीनका कार्यवाहक राजदूतले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता गर्नुभएको छ। हालै सम्पन्न निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा राप्रपाले आफ्नो आशालाग्दो उपस्थिति र प्रभाव विस्तार गर्दै गर्दा शक्ति राष्ट्रहरुले राप्रपाप्रति दर्शाएको सद्भाव, एजेन्डा प्रतिको चासो र आपसी सम्बन्धको नयाँ आयाम निश्चितरूपमा सुखद छ । मित्रता स्वीकार्य तर हस्तक्षेप अस्वीकार्य हाम्रो घोषित नीति हो, यसैको दायरामा रहेर हामी अन्तर्राष्ट्रिय सम्बन्ध क्रमशः विस्तार गर्नेछौं ।’

नेपालस्थित विदेशी राजदूतहरुले राप्रपाका नेतालाई मात्र भेटेका भने होइनन् । निर्वाचनको मतपरिणाम आउन सुरु गर्दैगर्दा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरे । प्रधानमन्त्री देउवालाई भेट्न राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई बधाई दिन राजदूत गएको बताइएपनि नयाँ सरकार गठनप्रति भारतको चासो राखेको बताइएको छ । प्रधानमन्त्रीलाई भेटेपछि राजदूत श्रीवास्तव नयाँदिल्ली गए । नयाँदिल्लीबाट फर्किएपछि फेरि राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवासँग भेट गरे । भेटमा राजदूत श्रीवास्तवले नवनिर्वाचित सांसदहरुको प्रशिक्षणका लागि भारतले बजेट दिने प्रस्ताव गरेको समाचार बाहिर आयो । त्यसको सरकारका मन्त्रीहरुले नै विरोध गरे । प्रधानमन्त्री देउवा र भारतीय राजदूतको भेटलाई कतिपयले सत्तासमीकरणमा भारतको चासोको रुपमा विश्लेषण गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि भारतीय राजदूतले नेताहरुसँगको भेटघाटलाई तीब्र बनाए । श्रीवास्तवले माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेटेर सरकार गठनबारे चासो राखेका छन् । त्यस्तै राजदूत श्रीवास्तवले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन् । भेटमा राजदूत श्रीवास्तवले सांसद निर्वाचित भएकोमा ओलीलाई बधाई दिँदै नयाँ राजनीतिक परिस्थितिमा एमालेले आफूलाई कसरी अघि बढाउँछ भन्ने जिज्ञासा राखेको बताइएको छ ।

भारतीय राजदूत नेताहरुसँगको भेटघाटमा सक्रिय भइरहेका बेला अमेरिकी राजदूत डिन आर थम्पसनले पनि भेटघाटलाई तीब्र बनाए । अमेरिकी राजदूत थम्पसनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवासँग पनि भेट गरे । दुवै भेटमा राजदूतको चासो सत्ता समीकरणबारे थियो । भेटमा राजदूत थम्पसनले प्रधानमन्त्री देउवालाई कांग्रेस ठूलो दल बनेकोमा बधाई दिनुका साथै सरकार गठनबारे जिज्ञासा राखेको बताइएको छ । त्यस्तै राजदूत थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । नेपालसँगको भेटमा पनि राजदूत थम्पसनले नयाँ सरकार गठनकै बारेमा चासो राखेका थिए ।

भारत र अमेरिकी राजदूतले राजनीतिक भेटघाटलाई तीव्रता बनाइरहेका बेला चीन भने यसपटक मौन देखिएको थियो । यतिबेला चिनियाँ राजदूत हाउ यान्छी कार्यकाल सकिएर स्वदेश फिर्ता भइसकेको र नयाँ राजदूत नआइसकेकाले होला चीन मौन देखिएको हो । तर राप्रपाका नेता भेट्न भने चीनका कार्यबाहक राजदूत वाङसिन नै राप्रपा कार्यालय आए । चीनका कार्यबाहक राजदूत अन्य दलका नेता भेट्न गएको खबर भने सार्वजनिक भएको छैन । विगतमा नेपालमा राजनीतिक दलहरुबीच तिक्तता बढ्दा चीनका राजदूत सक्रिय हुन्थे अर्थात् राजदूतले राजनीतिक भेटघाटलाई तीव्र बनाउँथे । तर यसपटक राजदूत नभएका कारण चीनको सक्रियता कम देखिएको छ । राजदूतहरुका यी भेटवार्ता बधाई दिनका लागि मात्रै हुन् त ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *