कांग्रेस संसदीय दल निर्वाचन : संस्थापन एकढिक्का, इतरमा विमति

काठमाडौं । संसदीय दलको नेता चयन प्रक्रियामा कांग्रेसभित्रको संस्थापन समूह एक देखिएको छ ।

संस्थापन समूहबाट दल नेताका लागि सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बन्दै छन् । तर, कांग्रेसभित्रको संस्थापनइतर समूहमा भने दुई आकांक्षी देखिएका छन् ।

१४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धामा रहेका डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा इतर समूहबाट दलको नेता बन्न दौडमा छन् । उनीहरूबीच सोमबार ‘एकल उम्मेदवार बन्न सहमति प्रयास भए पनि राति अबेरसम्म सहमति भएको’ छैन । ‘इतर समूहबाट साझा उम्मेदवार तय गर्न’ भन्दै सोमबार राजधानीको होटेल एम्बेस्डरमा बैठक बसेको थियो ।

कांग्रेस दलको नेताका लागि भोलि बुधबार हुने निर्वाचनमा संस्थापन समूहबाट सभापति देउवा उठ्ने पक्का भइसकेको छ ।

इतर समूहमा सहमति नभए वा दुवै मैदानमा उत्रिने अवस्था आए देउवालाई दलको नेता बन्न सहज हुने देखिन्छ । कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन् । उनीहरूले नै दलको नेता चयन गर्ने प्रक्रियामा मतदानको अधिकार पाउनेछन् ।

इतर समूहले दलको नेतामा एकल उम्मेदवार तय गर्दा पनि सो समूहलाई संस्थापन समूहसँग चुनावी नतिजा आफ्नो पक्षमा पार्न भने सहज छैन ।

इतर पक्षका कांग्रेसका एक केन्द्रीय सदस्यले ‘पाँच वर्षपछिको राजनीतिक अवस्था हेरेर दलको नेतामा सांसदले मतदान गर्ने अवस्था पार्टीभित्र बनेकाले जित इतर समूहको नै हुने तर त्यसका लागि साझा उम्मेदवार चाहिने’मा जोड दिएको समाचार आजको राजधानी दैनिकमा छ ।

निर्वाचन समितिले उमेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ भने बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।

निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार संसदीय दलको नेता चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकिएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले दलको नेता चयन प्रयोजनका लागि भीष्मराज आङ्दम्बे नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *