असीमित ऊर्जा प्रदान गर्न सक्ने प्रक्रियामा वैज्ञानिकलाई सफलता

अमेरिकी वैज्ञानिकहरूले असीमित ऊर्जा प्रदान गर्न सक्ने प्रभावकारी प्रक्रिया पत्ता लगाउन गरेको प्रयत्नमा विशेष सफलता हासिल गरेका छन् । त्यस्तो सफलता न्युक्लिअर फ्युजन अर्थात् पारमाणविक विलयन प्रक्रियाको क्षेत्रमा प्राप्त भएको हो ।

पारमाणविक विलयन जीवाश्म इन्धनमा निर्भर छैन र त्यसबाट हानिकारक हरित गृह ग्यास पनि उत्पन्न हुँदैन त्यसैले यसबाट जलवायु परिवर्तनको नकारात्मक असर नियन्त्रण गर्न पनि सहयोग पुग्न सक्ने दाबी गरिन्छ ।

पारमाणविक विलयन त्यस्तो प्रक्रिया हो जुन प्रक्रियाबाट सूर्यलाई उसको ऊर्जा प्राप्त भइरहेको छ । ५० भन्दा बढी देशका वैज्ञानिकहरूले सन् १९६० को दशकदेखि पृथ्वीमा त्यस्तै प्रक्रियाबाट ऊर्जा उत्पादन गर्ने प्रयास गरिरहेका छन् ।

यो प्रक्रियाबाट संसारलाई ठूलो मात्रामा स्वच्छ ऊर्जा उपलब्ध हुने वैज्ञानिकहरूले आशा राखेका छन् । परमाणु विलयनको प्रक्रियामा परमाणु भनिने अतिसुक्ष्म कणका जोडीहरूलाई ठूलो ताप दिएर बेस्सरी तताइन्छ र एक अर्कामा मिसिन प्रेरित गरिन्छ यसरी तिनीहरूको सम्मिलनबाट अलि गह्रुङ्गो अर्को कण बन्न पुग्छ ।

यो प्रक्रिया न्युक्लिअर फिसन अर्थात् पारमाणविक विखण्डनको भन्दा उल्टो अर्थात विपरीत प्रक्रिया हो जहाँ गह्रुङ्गा कणहरूलाई टुक्राइन्छ । पारमाणविक ऊर्जा केन्द्रहरूले अहिले पारमाणविक विखण्डन प्रविधि प्रयोग गरेर बिजुली उत्पादन गरिरहेका छन् ।

पारमाणविक विखण्डनले ठूलो मात्रामा विकिरणजन्य फोहोर उत्पन्न गर्छ जुन खतरनाक पनि हुन सक्छ त्यसैले त्यस्ता विकिरणयुक्त फोहरलाई सयौँ वर्षसम्म सुरक्षित रूपमा भण्डारण गर्नुपर्ने हुन्छ ।

पारमाणविक विलयनबाट उत्पन्न हुने फोहोर कम विकिरणजन्य हुन्छ र तुलनात्मक रूपमा छिटो निस्प्रभावी पनि बन्छ । यसले हरित गृह ग्यास पनि पैदा गर्दैन जुन ग्यासलाई सूर्यको तापक्रमलाई सोसेर जलवायु परिवर्तनको समस्याका लागि जिम्मेवार मानिएको छ ।

धेरैजसो विलयन परीक्षणमा हाइड्रोजन तत्वको प्रयोग गरिन्छ जुन समुद्रको पानी र लिथिअम तत्त्वबाट सस्तोमै उत्पादन गर्न सकिन्छ। त्यसको अर्थ हो ऊर्जा उपलब्धता दशौँ लाख वर्षसम्म रहिरहन सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *