विराटनगर। दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको सडकको काम रोकिएपछि ठेकेदारलाई कारबाही माग गर्दै सुनसरीको वराह क्षेत्रका स्थानीयले प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
वराह क्षेत्रको महेन्द्रनगर र धरान जोड्ने १३.७ किलोमिटर सडक २०७८ भदौ १२ गते सम्पन्न हुनुपर्ने थियो। आर्थिक वर्ष २०७५/७६ को बजेटअन्तर्गत २०७६ भदौ १२ गतेदेखि निर्माण सुरु गर्ने सम्झौता ठेकेदार कम्पनीसँग भएको थियो। लुम्बिनी गजुरमुखी जेभीले ३७ करोड २३ लाखमा ठेक्का पाएको सडकको काम सुस्त भएको भन्दै स्थानीयले मङ्गलबार मन्त्रालयको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेका हुन्।
वराह क्षेत्र नगरपालिका अन्तर्गत महेन्द्रनगर, बाङ्गे, हर्दिया, कालाबन्जार, तीनकुने, भलुवाचौरी हुँदै धरानसम्मको दूरी निर्माणाधीन सडकले तय गर्दछ। ठेकेदारसँग सम्झौता हुँदा दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोभिड–१९ सङ्क्रमणका कारण सरकारले एक वर्ष म्याद थप गरेको थियो। सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधनपछि सडक निर्माणको म्याद २०८० असार १२ गतेसम्म थपिएको छ।
म्याद थप भएको अवधिमा समेत सडक निर्माणको सम्भावना नदेखिएपछि आजित भएका स्थानीयले मन्त्रालयको ध्यानाकर्षण गराउन वराह क्षेत्रबाट गाडी नै रिजर्भ गरेर विराटनगर पुगेका छन् ।