काठमाडौं । सुपरस्टार खेलाडी लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मंगलबार राति भएको सेमिफाइनल खेलमा क्रोएसियाविरुद्ध पेनाल्टीमा एक गोल गर्दै मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका हुन् ।
अर्जेन्टिनाले गएराति भएको खेलमा क्रोएसियालाई ३-० गोलले पराजीत गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो । उक्त खेलमा उनले एक गोल गर्दै गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान भंग गर्दै विश्वकपमा आफ्नो गोलसंङ्ख्या ११ पुर्याएका हुन् ।
बाटिसस्टुटाले १२ खेलमा १० गोल गर्दा मेस्सीले २५ खेल खेल्दै उक्त कीर्तिमान भंग गरेका हुन् । यस्तै उनले विश्वकपमा सर्वाधिक खेल खेल्ने लोथर म्याथुसको कीर्तिमानसँगपनि बराबरी गरेका हुन् । पाँचौ विश्वकप खेलिरहेका मेस्सीले जारी प्रतियोगितामा पाँच गोल गरिसकेका छन् । उनी गोल्डेन बुटको दौडको शीर्ष स्थानमा रहेका छन् ।
सन् २००६ को विश्वकप खेल्दै डेब्यु गरेका मेस्सीको सम्भवत यो नै अन्तिम विश्वकप हुनेछ ।