समानुपातिकतर्फको नाम आज आयोगमा पठाउनुपर्ने, दलहरू आन्तरिक छलफलमा

काठमाडौं । समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय आज सकिँदैछ। प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरी क्लस्टर मिलाएर नाम पठाउन आयोगले बुधबार दलहरूलाई आजसम्मको समय दिएको हो ।

प्रत्यक्षबाट चुनाव जित्ने महिलाको संख्या कम भएपछि समानुपातिकबाट प्रतिनिधिसभामा अधिकांश महिला लैजानुपर्ने भएकाले दलहरू दबाबमा परेका छन् । नाम टुंगो लगाउन कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले आज आ-आफ्ना पार्टीका बैठक बोलाएका छन् ।

समानुपातिकबाट ३२ सिट पाएको कांग्रेसले २९ जना महिला अनिवार्य पठाउनुपर्ने भएकाले ३ मात्रै पुरुष पठाउन पाउनेछ । ३४ सिट पाएको एमालेले पनि समानुपातिकको नाम टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ ।

यसअघि शुक्रबार लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आज बिहान ११ बजेका लागि बोलाइएको हो। नेकपा माओवादी केन्द्रले समानुपातिकमा पाएको १४ उम्मेदवार छनोट गर्न आज पदाधिकारी बैठक बोलाएको छ ।

शुक्रबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि फेरि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी र सात सिट पाएको राप्रपाले पनि आज पार्टीको आधिकारिक बैठकबाट निर्वाचित हुनेको नाम टुंगो लगाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *