सार्वजनिक सम्पत्ति संरक्षण गर्न कीर्तिपर नगरपालिकाले छुट्यायो ४० लाख

काठमाडौं । कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर काम सुरु गरिसकिएको छ ।

गत वैशाखमा निर्वाचित भएर नगरपालिकाको कार्यभार सम्हालेपछि पहिलो पटक शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं उपप्रमुख शुभलक्ष्मी शाक्यले नगरभित्रका सार्वजनिक जग्गा पाटी, चोक र वन क्षेत्रमा अतिक्रमण बढदै गएको गुनासो बारम्बार आउन थालेपछि बजेट विनियोजन नै गरी सार्वजनिक सम्पत्ति सुरक्षणमा लागिएको जानकारी दिइन् ।

“अहिलेको नगर नेतृत्व सार्वजनिक सम्पत्ति बचाउनु पर्नेमा एक मत छ”, उनको भनाइ थियो । यसको संरक्षण गर्न सके नगरवासीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने मात्र नभई कुनै पनि बेला आइपर्ने आपद् विपतमा काम लाग्ने धारणा पनि उनको थियो ।

पत्रकार सम्मेलनमा नगरपालिकाले नगरका सबै विद्यालयको भौतिक र शैक्षिक अवस्था निरीक्षणसहित सघन अनुगमन गर्न चार/चार जनाको टोली बनाएर खटाउने जानकारी पनि कार्यक्रममा दिइयो ।

यसअन्तर्गत टोलीले विद्यालयका भौतिक संरचना विद्यार्थी मैत्री एवं शैक्षिक मापदण्डअनुरूप भए नभएको निरीक्षण गर्ने, शैक्षिक वातवरण र सिकाइ उपलब्धिबारे बुझ्ने र निरीक्षणबाट प्राप्त परिणाम नगरपालिकालाई बुझाउने छन् ।

टोली नगरपालिकाको शिक्षा शाखाको नेतृत्वमा परिचालित हुनेछन् । टोलीले नगरका सार्वजनिक र निजी स्वामित्वका गरी ३० भन्दा बढी विद्यालयको निरीक्षण गर्नेछ ।

नगरपालिकाले प्राकृतिक विपद् नियन्त्रणसहित करिब दुई सय २५ योजना अघिल्ला वर्षका कार्यक्रमअन्र्तगत ल्याइएको जानकारी दिएको छ ।

नगरस्तरीय २१ र ४४ वटा वडास्तरीय योजना सञ्चालन भइरहेको र आगामी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गरिसक्ने योजना रहेको उपप्रमुख शाक्यले जानकारी दिइन् ।

नगरपालिकाले सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको जानकारी पनि उपप्रमुख शाक्यले दिइन् ।

उनले शिक्षामा ‘एक घर एक स्नातक’ कार्यक्रमअन्तर्गत तीन सामुदायिक क्याम्पसमा नगरपालिकाले ६० प्रतिशत र सम्बन्धित क्याम्पसले ४० प्रतिशत व्यहोर्ने गरी कार्यान्वयनमा गएको जानकारी पनि दिइन् ।

चालु आर्थिक वर्षमा नगरपालिकाले चालु र पूँजीगत गरी कुल बजेटको १९ दशमलव ४४ प्रतिशत रकम खर्च गरेको उनले बताइन्। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *