काठमाडौ । प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद विजयी भएका छन् ।
सत्तारूढ गठबन्धन सरकार गठनको आन्तरिक तयारीमा रहेकै बेला माओवादी केन्द्र अध्यक्ष प्रचण्डले स्वतन्त्र सांसद प्रभु साहसँग भेटघाट गरेका छन् । साह समूहबाटै विजय सांसद किरण साहका साथै सोही समूहसँग नजिक रहेका अर्का स्वतन्त्र सांसद अमरेश सिंहसमेत एकैठाउँ उभिएपछि प्रचण्ड उनीहरूसँग अब गठन हुने सरकारलाई समर्थन गर्न’ आग्रह गरिरहेका छन् ।
ललितपुर खुमलटारस्थित निवासमा बिहीबार प्रचण्ड, साहका साथै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच छलफल भएको छ ।
प्रचण्डले यसअघि जनमत पार्टी अध्यक्ष डा सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं निवर्तमान सांसद रेशम चौधरीसँग भेटिसकेका छन् ।
डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रचण्डका साथै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईले पनि जेलमै पुगेर सरकार गठनमा सहयोग गर्न आग्रह गरिसकेका छन् । चौधरीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताले समेत भेटघाट गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपाल, नेसपा अध्यक्ष डा भट्टराईबीच निरन्तर छलफल जारी छ । प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल अघि बढाएका छन् । राजधानी दैनिकबाट