सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

राधिका बुढाथोकी, सिन्धुली । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन्। किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ।

गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्री गर्न किसानको घुइँचो नै लाग्ने गरेको छ। बीपी राजमार्ग खुलेसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिए। उनी १५ वर्षदेखि जुनार बेचिरहेका छन्। ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भने।

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो। कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो। विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन्।

‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकैदिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन्।

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन्। शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताइन्। १६ वर्षदेखि जुनार बेचिरहेकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन्। उनी जुनार बेचेर वर्षको रु एक लाख बचत गर्छिन्।

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन्। जुनारको मूल्यमा भने एकरुपता छैन। मुख्य बजारमा व्यापारीले प्रतिकिलो रु ६५ देखि रु ७० सम्ममा किसानसँग खरिद गरी  ८० देखि १२० रुपैयाँसम्ममा जुनार बिक्री गरिरहेका छन्।

गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष रु सात लाख २० हजार आम्दानी भएको बताए। उनको बगैँचामा एक हजार पाँच सय जुनारका बोट छन्।

किसानको बगैँचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन्। जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन। जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ।

जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईंका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती भइरहेको छ। पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनी बताउँछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *