गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ ।

भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्गे्रस–आई) सरकारले बिधानसभामा हासिल गरेको १४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने देखिएको छ । यसअघि सार्वजनिक गरिएको सर्वेक्षणमा भाजपा राज्यमा सातौं पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो ।

गुजरात विधानसभा चुनावको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार मतगणनाका लागि १८२ पर्यवेक्षक, १८२ निर्वाचन अधिकृत र ४९४ सहायक निर्वाचन अधिकृत सेवामा खटिएका छन् ।

मतगणनाका लागि थप ७८ जना सहायक निर्वाचन अधिकृत रहेका छन् । गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो । गुजरात निर्वाचनको दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९.११ प्रतिशत मतदान भएको थियो ।

डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३.१४ प्रतिशत मतदान भएको थियो । गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ र प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गरेका थिए सन् २०१७ को विधानसभा चुनावमा काङ्ग्रेसले सत्तारुढ भाजपालाई कडा टक्कर दिएको थियो ।

यसैबीच, भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्गे्रस–आई) बीचको कडा प्रतिस्पर्धामा हिमाचल प्रदेशमा दुवैले समान ३२ सिटमा अग्रता लिएको देखिएको छ ।

राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो । भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट करिब १५ हजार मतका साथ अग्रस्थानमा छन् ।

उनले १४ हजार ९ सय २१ मतका साथ अग्रता कायम गर्दा काङ्ग्रेसका उम्मेदवार चेतराम चार हजार ३५१ मतले पछि परेका छन् । सिमला ग्रामीणबाट काङ्ग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल सात हजार २३३ मतका साथ अगाडि रहेका छन् ।

हिमाचल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् । भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेको र काङ्ग्रेसले आफ्नो घोषणापत्रमा उल्लेखित ‘१० सुनिश्चितता’ लाई समर्थन गरेपछि पहाडी राज्यमा तीव्र अभियान चलेको थियो ।

राज्यको तेस्रो ठूलो राजनीतिक शक्तिको रूपमा आम आदमी पार्टीको उदयले चुनावी लडाईंलाई तीव्र बनाएको छ । यी तीन दलबाहेक बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिस्ट पार्टी (माम्र्सवादी), भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र राष्ट्रिय देवभूमि पार्टी (आरडीपी) पनि चुनावी मैदानमा छन् ।

विगत केही वर्षदेखि सरकार परिवर्तन गर्ने परम्परा रहेको यस राज्यमा मतगणना जारी रहँदा भाजपा र काङ्ग्रेस दुवैले विजय हासिल गरेको दाबी गर्दै आएका छन् ।

यदि भाजपाले जित्यो भने उसले सत्ताविरोधी लहरलाई परास्त गर्नेछ र राज्यमा वैकल्पिक सरकारको प्रवृत्तिमा परिवर्तन ल्याउनेछ । यहाँ सन् २०१७ को विधानसभा निर्वाचनमा भाजपाले ४४ सिट जितेको थियो भने काङ्ग्रेसले २१ सिट जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *