परमाणु युद्धको जोखिम बढिरहेको पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन् । तर उनले रुसले सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन् । पुटिनले आफ्नो देशले हमलाको जवाफमा मात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेमा जोड दिएका छन् ।

रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेन युद्ध एउटा लामो प्रक्रिया हुनसक्ने बताएका छन् । पश्चिमा अधिकारीहरू पुटिनले युद्धको सुरुवातमा छिट्टै जित हुने सोचेको ठान्छन् ।

रुसले फेब्रुअरीमा युक्रेन आक्रमण थालेयता मस्कोको परमाणु अस्त्र प्रयोग गर्ने क्षमता बढ्दो रूपमा अनुसन्धानको विषय बनेको छ । तर उनले रुसले कसैलाई पनि परमाणु अस्त्रले नधम्क्याउने बताए ।

उनले भने,’हामीले मानसिक सन्तुलन गुमाएका छैनौँ, परमाणु अस्त्रहरू के हुन् भन्ने हामीलाई थाहा छ ।’

पुटिनले रुससँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्रहरू रहेको दाबी गर्दै आफ्ना परमाणु रणनीतिलाई अमेरिकासँग तुलना गरे । त्यसक्रममा पुटिनले अमेरिकाले आफ्ना परमाणु अस्त्रहरू अरूका भूभागमा समेत राखेको बताए ।

पुटिनले यसअघि रुसको परमाणु मान्यता परमाणु अस्त्रको रक्षात्मक प्रयोगका लागि मात्र स्वीकार्य हुनेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *