मधेस भजाउँदै नेता बन्दै

लहान । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पहिलो पटक सांसद बन्नबाट रोकिदियो। २०६४ सालदेखि उनी निरन्तर सांसद थिए। यादवलाई सांसद बन्नबाट रोक्ने व्यक्ति हुन्, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्द राउत (सिके)। यादवलाई सप्तरी क्षेत्र नम्बर २ बाट पराजित गर्दै राउत प्रतिनिधिसभा सदस्य (सांसद) बनेका हुन्। यादवलाई पराजित गरेर सांसद बनेका राउतले मुलुकको राजनीतिक समीकरणलाई तरंगित बनाइदिएको छ।

हुन त राउतले २०६९ देखि नै मुलुकको राजनीतिलाई विभिन्न ढंगले तरंगित तुल्याउँदै आएका छन्। झन्डै एक दशक (जेठ २०६९) देखि मधेसको राजनीतिलाई बेग्लै धारमा ‘स्वतन्त्र मधेस’ तरंगित गर्दै आएका थिए उनी। मुलुकको भौगोलिक अखण्डतामाथि धावा बोलेको आरोपमा जेल परे। कैदमै रहेका बेला २०७५ फागुन २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेर आफ्ना अजेन्डा बिसाए। अलगाववादी नारा बिसाएर मूलधारको राजनीतिमा आउने सिकेको संकेतले मुलुकको राजनीतिमा तरंग पैदा गर्‍यो।

प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच गरी ६ सिट प्राप्त गरेको जनमत पार्टीका अध्यक्ष राउत अहिले सत्ताको खेलमा होमिएका छन्। मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ जितेको जनमतले समानुपातिक मतसहित १३ सिट प्राप्त गरेको छ। मधेस प्रदेश सरकार गठनमा आफूलाई निर्णायक शक्ति भन्दै राउत संघीय सरकारमा सहभागिताका लागि कसरतमा जुटेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *