रुसद्वारा युक्रेनमाथि दर्जनौं क्षेप्यास्त्र प्रहार

रुसले आठ साताको बीचमा युक्रेनमा आठौँ पटक क्षेप्यास्त्रको वर्षा गरेको छ । रुसी आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको विवरण आएका छन् । दक्षिण युक्रेनको ओडेसामा पनि विद्युत् कटौती भएको छ ।

आक्रमणमा चार जना मारिएका युक्रेनले जनाएको छ । पछिल्लो आक्रमणको दुई सातापछि भएको नयाँ आक्रमण यसअघिका प्रहार भन्दा कम विध्वंसकारी भएको बताइएको छ ।

रुसले प्रहार गरेका ७० क्षेप्यास्त्र मध्ये ६० वटा युक्रेनले निष्क्रिय बनाएको दाबी गरे पनि मस्कोले १७ वटा निशानामा प्रहार गरेको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले छिमेकी राष्ट्र मोल्दोभाको विद्युत् आपूर्ति प्रणालीमा पनि क्षति भएको बताएका छन् ।

जेलेन्सकीले रुसी आक्रमण युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएका छन् । यसअघिका आक्रमणहरूमा पनि युक्रेनको ऊर्जा प्रणालीमा प्रहार भएको थियो जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए ।

राजधानी किएभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन् । रुसका दुई सैन्य हवाई अखाडाहरूमा भएका विस्फोटनहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको खबर लगत्तै युक्रेनमाथि आक्रमण भएको हो ।

इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा मस्कोको दक्षिण–पूर्वमा पर्ने र्याजान सहर नजिकैको हवाई अखाडामा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको रुसी सरकारी सञ्चारमाध्यमले यसअघि जनाएका थिए । सरातोभ क्षेत्रको अर्को एउटा हवाई अड्डामा भएको विस्फोटनमा दुई जना घाइते भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *